पाणिनी गाउँपालिकाः खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर


पालिका पत्र

७ चैत्र २०८०, बुधबार २०:४८ मा प्रकाशित

अर्घाखाँची, चैत्र ०७ ।
अर्घाखाँचीको पोखराथोकमा बन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका २ पोखराथोकमा कृषकको मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

बाँदर,बँदेल,दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागका आधारमा भोटे कुकुर वितरण गरिएको हो । बादर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा बन्यजन्तुबाट हैरानी खपेका कृषकहरू पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका कृषक भाष्करराज पौडेलले भने,’खेतीपाती तथा फलफुल जोगाउन मुस्किल थियो बाँदर तथा बन्यजन्तुले हैरानी दिएका थिए, भोटे कुकुर पाएपछि खुशी भएका छौं ।’

कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागत सहभागीतामा भोटे कुकुर वितरण गरिएको छ । वडा अध्यक्ष सहित पाणिनी गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेत गई धादिंग भोटे कुकुर क्लब अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नम्वर २१ र माछापुच्छ्रे गाउँपालिकामा गई अलग अलग सन्तानका भोटे कुकुर खरिद गरी कृषकलाई एक कार्यक्रमका बीच वितरण गरियो ।

सबै डाक्टरी रिपोर्ट,डिएन ए चेक समेत गरेर कुकुर ल्याइएको वडा अध्यक्ष पौडेलले जानकारी दिए । ४० देखि ६० दिन सम्मका कुकुरहरूको खरिद मुल्य प्रति कुकुर ३५ हजार रहेको छ । कृषकहरूले ३५ हजारको २५ प्रतिशत अर्थात ८ हजार ७ सय ५० रुपैयामा शुद्ध नश्लका भोटे कुकर पाएका छन् ।

बादर बदेल जस्ता बन्य जन्तुले सताउन थालेपछि अर्घाखाँची सहित पहाडि जिल्लाका मानिसको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताए ।

अर्घाखाँचीका अधिकांस क्षेत्रमा बाँदर,बँदेल, दुम्सी जस्ता बन्यजन्तुले खेतीबाली सखाप पारेपछि कृषकहरू चिन्तित बनेका छन् । वन्यजन्तुबाट खेती जोगाउन गरेको कुकुर वितरण कार्यक्रम नेपालकै सबै स्थानीय तहमा पहिलो भएको पाणिनि गाउँपालिकाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्