कपिलवस्तुमा हुने तिलौराकोट गोल्डकपमा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहने 


पालिका पत्र

१० चैत्र २०८०, शनिबार १९:०७ मा प्रकाशित

बाणगङ्गा, चैत्र १० । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजना हुन लागेको प्रथम तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लब गरी ८ टोलीको भिडन्त हुने भएको छ । बुद्ध रङ्गशाला जितपुरमा चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने फुटबलमा ए डिभिजन र मोफसलका क्लब गरी ८ टोलीको भिडन्त हुने भएको आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ ।

संघका अनुसार प्रतियोगितामा ए डिभिजनका मछिन्द्र, त्रिभुवन आर्मी, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबको सहभागिता हुनेछ भने मोफसलबाहिरबाट कपिलवस्तु ११, साहारा क्लब पोखरा, भरतपुर क्लब चितवन र सुदूरपश्चिम ११ ले सहभागिता जनाउने संघका अध्यक्ष तिलक थापाले  जानकारी दिए ।

खेल नकआउट नियमको आधारमा हुने बताउँदै अध्यक्ष थापाले यो प्रतियोगिता लुम्बिनी प्रदेशकै ठुलो रहेको दावी गरे । प्रदेशमा यति ठुलो धनराशिको फुटबल पहिलोपटक गरिन लागेकोले जिल्ला बासीमा उत्साह थपिएको थापाले बताए ।


प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टोलीले ५ लाख ५५ हजार ५५ रुपैयाँ नगद पाउने छन् भने ट्रफी र मेडल पनि पाउने छन् ।

हरेक दिनको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार रुपैयाँ पाउने थापाको भनाई छ । एकदुई दिनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे विस्तृत जानकारी दिइने थापाले बताए । शुल्क लाग्ने प्रतियोगितामा अहिले प्याराफिट निर्माण लगायतको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्