रेसुङ्गामा नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रम सुरु


पालिका पत्र

२६ चैत्र २०८०, सोमबार १४:२५ मा प्रकाशित

गुल्मी, चैत्र २६ । गुल्मीको रेसुङ्गा नगरपालिकामा नागरिकका समस्या पहिचानसँगै गाउँ–गाउँमा सेवा प्रवाह गर्ने उद्देश्यसहित ‘नागरिकसँग मेयर कार्यक्रम’ को सुरु गरिएको छ । यस नगरपालिकाले वडा नम्बर– ४, अर्खलेबाट सो कार्यक्रमको सुभारम्भसँगै सार्वजनिक सुनुवाइ र एकीकृत घुम्ती शिविर सञ्चालन गरेको बताइएको छ ।

त्यस अवसरमा अर्खलेका नागरिकले यहाँको समस्याको बारेमा जानकारी गराएका थिए । नागरिकका हरेक कुरालाई सहज रुपमा सम्बोधन गर्नका लागि शुभारम्भ गरिएको ‘नागरिकसँग मेयर कार्यक्रम’ लाई यस नगरपालिकाको १४ वटै वडामा व्यापक रुपमा लगिने नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

उहाँले नगरपालिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवालाई यस कार्यक्रममार्फत गाउँ–गाउँमा पुउन लागिएको बताउनुभयो । नागरिकको गुनासो सुनुवाइ र सम्बोधनका लागि ‘नागरिकसँग मेयर कार्यक्रम’ को सुरुवात गरिएको नगरप्रमुख पन्थीको भनाइ छ ।

नागरिकलाई सहज रुपमा वडा तहबाट सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा यस वडामा एकै दिन झण्डै पाँच सय जनाले सेवा लिएका छन् । जसमा सामाजिक सुरक्षाअन्तर्गत १३७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र १५ जनालाई ज्येष्ठ नागरिक परिचय–पत्र गरिएको छ । स्वास्थ्य सेवाअन्तर्गत रक्तचाप, किड्नी परीक्षण, सुगर जाँच तथा अन्य आभारभूत सेवाहरु प्रदान गरिएको छ । स्वास्थ्यतर्फ १७६ जनाले सेवा लिएका छन् । १२६ जना महिला र ५० जना पुरुष सेवा लिएका छन् । ९५ जनाको सुगर जाँच गरिएकोमा १३ जनालाई रेफर गरिएको छ । १०० जनाको पिसाब जाँच गरिएकोमा पाँच जनालाई उपचारका लागि रेफर गरिएको छ ।

त्यस्तै, पशु सेवाअन्तर्गत रोगी पशुको स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । जसमा ८१ जना पशुपालक कृषकहरुले सेवा लिएका छन् । कृषि कार्यक्रमअन्तर्गत १९ जना कृषकहरुले माटो परीक्षण गराएका हुन् । नगरपालिकाबाट प्रवाह गरिने सेवा वडाबाटै प्रवाह भएपछि सेवा लिनका लागि दिनभर नागरिकहरुको घुइँचो रहेको थियो । ‘नागरिकसँग मेयर कार्यक्रम’ मार्फत एकीकृत घुम्ती शिविर रेसुङ्गा नगरपालिकाका १४ वटै वडामा पुर्र्‍याउने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्