एकीकृत घुम्ती शिविरबाट १२ सय ८७ सेवाग्राही लाभान्वित


पालिका पत्र

२८ चैत्र २०८०, बुधबार १९:३३ मा प्रकाशित

बाणगङ्गा, चैत्र २८ ।

कपिलवस्तुको बाणगङ्गा ९ मा सञ्चालित एकीकृत घुम्ती शिविरबाट १२ सय ८७ सेवाग्राही लाभान्वित भएका छन् । बाणगङ्गा नगरपालिका कार्यपालिकाको निर्णय अनुसार आज सञ्चालित घुम्ती शिविरमा वाणगङ्गा नगरपालिकाबाट सेवा प्रवाह हुने १२ वटा शाखाको सेवा एकैसाथ प्रदान गरिएको थियो ।

बाणगङ्गा ९ भलवाडको शुद्धोदन मावि जिनुवामा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले उत्तमनगर टोल भर्लाबासका सन्त बहादुर बिसीलाई व्यवसाय दर्ताको प्रमाणपत्र प्रदान गरि एकीकृत घुम्ती शिविरको शुभारम्भ गरेका थिए । घुम्ती शिविरमा मेयर अर्यालले नगरको क्षेत्रबाट टाढा रहेका सेवाग्राहीलाई नगरले प्राथमिकताका राखेर यो कार्यक्रम राखिएको बताएका थिए ।


भलवाडमा भएको घुम्ती शिविरमा १२ सय ८७ जनाले प्रत्यक्ष सेवा लिएको नगरका प्रशासन शाखा प्रमुख केशवराज भट्टराईले बताए । कृषि विकास शाखा अन्तर्गत बाली उपचार शिबिर तथा विषादि सचेतना १ सय ७३ जना, माटो परिक्षण १ सय ९४ जना, पशु विकास अन्तर्गत ३ सय १० जना, व्यवसाय दर्ता र नवीकरण १३ वटा, स्वास्थ्य शाखा अन्तर्गत प्राथमिक उपचार र परामर्श सेवामा ३ सय १० जना, ज्येष्ठ नागरिक परिचयपत्र ११ जना, अपांग परिचयपत्र ५ जना, आयुर्वेद शाखामा २ सय ४६ जना, सुरक्षित आप्रवासन ३० जना र प्रधानमन्त्री रोजगार अन्तर्गत १७ जनाले सेवा लिएका छन् ।

घुम्ती शिविरमा सबैभन्दा बढि पशु र स्वास्थ्य सम्बन्धी ३ सय १० जनाले सेवा लिएका छन् भने सबैभन्दा कम भूमि सम्बन्धी सेवा ३ जनाले लिएका छन् ।

बाणगङ्गा ९ भलवाडका सेवाग्राहीहरूलाई आफ्नै घर आगनमा वाणगङ्गा नगरले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । एकीकृत घुम्ती शिविर बिहान १० बजेदेखि साँझ सम्म सञ्चालन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ को यस अघि बाणगङ्गा १० पटनाबाट पहिलो घुम्ती शिविर सुरु गरिएको थियो । जसमा नगरवासी उत्साहित भएर सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्