कपिलवस्तुको मायादेवीमा करिब ३ बिघा खेतको पाक्न लागेको गहुँ जलेर नष्ट


पालिका पत्र

२८ चैत्र २०८०, बुधबार १९:३७ मा प्रकाशित

कपिलवस्तु, चैत्र २८ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।

बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको बताए ।

आज मध्याह्न १२ बजेर १५ मिनेटमा प्रहरी टोली आगो निभाउन खेतमा खटिएको र स्थानीयको सहयोगमा १२ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको उनले जानकारी दिए । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । ‘स्थानीयले एक्कासी आगो सल्किएको भनेका छन्, आगलागीको कारणबारे हामी अनुसन्धान गर्दैछौं,’ डिएसपी ओलीले भने । भित्राउन ठिक्क भएको गहुँ खेतमै जलेर नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्