उपमेयर गुप्ताको ज्यादतीले आक्रान्त कपिलवस्तु नगरपालिका, कर्मचारी समेत वाक्क पर्दै !


४ बैशाख २०८१, मंगलवार १७:४८ मा प्रकाशित

बैशाख ४ गते । कपिलवस्तु नगरपालिकामा उपमेयर सुनिता गुप्ताको ज्यादतीले सिंगो नगर आक्रान्त बनेको छ । निर्वाचित भए पश्चात लगातार बिवादित बन्दै आएकी गुप्ताले कर्मचारीसंगै निर्वाचित प्रतिनिधिलाई समेत कामकारवाहीमा असहजता पैदा गर्ने गरेकी छिन् ।

सुशासन कायम गर्ने निहुँमा नगरका सबै शाखा, उपशाखाहरुमा हुने काममा रोकावट पैदा गर्ने, अवरोध सिर्जना गर्ने गरेको कर्मचारी बताउँछन् । यता, मंगलबार १५ औं नगरसभा चलिरहँदा उपमेयर सुनिता गुप्ताले मेयर सुदीप पौडेलमाथी र्दुव्यवहार गरेकी छिन् । ५ महिना ढिलो गरि संचालन भएको कपिलवस्तु नगरपालिकाको नगरसभा मंगलबार (बैशाख ४) का लागि आव्हान गरिएको थियो । पालिकाका पदाधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य लगायत सबैको उपस्थितीमा कपिलवस्तु नगरपालिकाले १५ औं नगरसभा संचालन गर्यो ।

सभा संचालन गर्ने मुख्य उत्तरदायित्व नगर उपप्रमुखकै रहने कानुनी प्रावधान छ । यद्यपि, प्रावधान बमोजिम पौष महिनामा नगरसभा संचालन गर्न उपमेयर नै बारम्बार बाधक बनेपछि बैशाख ४ गतेलाई सभा हुने मिति तय गरिएको थियो । सभा संचालनसँगै नगरका कामकारवाही, कार्यसम्पादनमा जनप्रतिनिधीदेखि कर्मचारीसम्मलाई दोषी करार गर्दै आएकी उपमेयर सुनिता गुप्ताले नगरसभामै मेयर सुदीप पौडेलमाथी दुर्व्यवहार गरिन् ।

बजेट, योजना तथा कार्यक्रम प्रति तिब्र असन्तुष्ट रहेकी उपमेयर गुप्ताले पोडियममै बोल्दा नै आपत्तीजनक शब्द प्रयोग गरिरहेकी थिइन् । आफुले प्रस्तुत गर्नुपर्ने बिधेयक, ऐन लगायतका बिषयबस्तु प्रस्तुत नगरि गुप्ता नगरका मेयर, प्रमुख प्रशासकीय अधिृकत, शाखा प्रमुखहरु लक्षित भष्ट्रचार आरोपका फेहरिस्त सुनाउन थालिन् । आफु लक्षित आरोपको मेयर पौडेलले आफु बसेकै चेम्बरबाटै प्रतिवाद गरे ।

उपमेयर गुप्ता पोडियमबाट ओर्लिन्, मेयर पौडेलको नेमप्लेट फालिन् । आफुले लगाएको चप्पलले मेयर पौडेललाई हान्न प्रयास गर्दै “अब्बे मार ढारब, सब जने मिल्के पैसा खावथे” भन्नै सभाबाट बाहिरिन् । सभामा उपस्थित सबै सदस्यहरु आक्रोशित देखिए । लगत्तै सबै सदस्यहरु आआफ्नो स्थानमा उभिएर उपमेयर बिरुद्ध नाराबाजी गरे ।

उपमेयरको यो कदम न्यायसंगत नभएको अधिकांश वडाध्यक्षहरुको भनाइ छ । मनपरितन्त्र गरेर नगरसभा नै बिथोल्ने नियतले उपमेयरले हर्कत देखाएको उनीहरुको भनाइ छ । बिगत पाँच महिनादेखि उपमेयर बैठकमा अनुपस्थित रहने अनि छलफलमा नआउने गरेको मेयर पौडेल बताउँछन् । पुषमा गर्नुपर्ने नगरसभा बैशाखमा गर्नुपर्ने बाध्यताले नगरको गतिविधिमा प्रत्यक्ष असर परेको उनले बताए । नगरसभा जस्तो गरिमामय र संवेदनशील स्थानमा आफु माथी ब्यक्तिगत आक्रोश पोख्नु सिंगो नगरपालिकाको गरिमामा आँच आउने कार्य भएको उनले बताए ।

कार्यपालिकाको सर्वसम्मतीबाट सभाको संचालन नगरले गरेको हो । केहि महिना अघि पनि कर्मचारीलाई र्दुव्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारीहरुले पेनडाउन गरेर बिरोध जनाएका थिए । उपप्रमुख गुप्ताले नगरपालिकामा सुशासन कायम राख्ने भन्दै गतबर्षदेखि हालसम्मका प्रत्येक शाखाका फाइल अध्ययन गरिरहेकी छिन् ।

यता, उपमेयरको ब्यवहारका कारण न्यायिक समितीका सदस्यहरुले राजिनामा दिएका छन् । वडाध्यक्षद्धय मोहनलाल शर्मा र रामगोपाल यादवले राजिनामा दिएका छन् । उपमेयरले गैरजिम्मेवार प्रकृतिका काम गरेको र आफुलाई असहज लागेर समितीबाट राजिनामा दिएको शर्माले बताए ।

यसैबीच, नगरसभाले महत्वपूर्ण तीनवटा बिधेयक पारित गरेको छ । विनियोजन ऐन, २०८० लाई संशोधन समेत गर्न बनेको पुरक विनियोजन विधेयक, २०८०, अनुगमन कार्यविधि, २०८० र घरनक्सालाई थप ब्यवस्थित गर्न तथा पुर्नः अभिलेखीकरण गर्न बनेको बिधेयक, २०८० पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्