बाणगङ्गाको त्यो अपत्यारिलो घटनाः श्रीमान – श्रीमती दुवैको ज्यान गयो 


पालिका पत्र

१९ बैशाख २०८१, बुधबार २०:५५ मा प्रकाशित

बाणगङ्गा, वैशाख १९ । जिल्लाको बाणगङ्गा नगरपालिकामा श्रीमान – श्रीमतीको मृत्यु भएको कारणबारे आधिकारिक जानकारी प्राप्त भएको छ । वडा नम्बर ८ ढोडेकोलको एउटा घरमा बुधबार बिहान श्रीमान – श्रीमती मृत फेला परेका थिए । मृत फेला पर्नेमा करिब ५५ वर्षकी जुठी भुसाल थिइन् भने करिब ६० वर्षका टेकलाल भुसाल थिए । जुठी बिस्तरामा मृत थिइन् भने श्रीमान भर्याङमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार श्रीमान टेकलाल भुसालले सुरुमा श्रीमती जुठीको बिस्तरामा हत्या गरेका थिए । उनले टाउकामा धारिलो हतियार दाउ प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । दाउ प्रहारबाट श्रीमतीको मृत्यु भएपछि श्रीमानले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । मंगलबार राति घरमा कोही नभएको मौका छोपी श्रीमानले हत्या गरेका हुन् । राति घरमा कोही भएको भए घटना हुनबाट जोगिन सक्ने प्रहरी बताउँछ । घटनाबारे प्रहरीले बिहान ८ बजेपछि मात्र जानकारी पाएको थियो । त्यसपछि घटनास्थलमा पुगेर प्रहरीले शव निकालेको थियो ।

शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गरेपछि अहिले घरमा बुझाइएको छ । उनीहरूका ३ छोराहरू छन् । तीनमध्ये १ जना विदेश रहेको र २ जना काठमाडौँ रहेका थिए । काठमाडौँबाट छोराहरू आउन ढिलाई भएपछि पोस्टमार्टम प्रकृया पनि ढिलो भएको पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए । प्रहरीको प्रारम्भिक जानकारी अनुसार दुईजनाबीच बेमेलले घटना निम्तिएको हो । छिमेकीहरूले पनि उनीहरूबीच राम्रो सम्बन्ध र समझदारी नरहेको बताएका छन् ।

घटनाको डिएसपीसहितको टोलीले अनुसन्धान गरिरहेको छ । के कारणले यस्तो घटना भएको हो यसबारे अनुसन्धानपछि बताउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्