बाणगङ्गा नगरका १३ हजार घरधुरी खानेपानीको पहुँचमाः मेयर अर्याल


पालिका पत्र

१९ जेष्ठ २०८१, शनिबार २०:०४ मा प्रकाशित

बाणगङ्गा, जेठ १९। 
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका १३ हजार घरधुरी खानेपानीको पहुँचमा रहेको नगर प्रमुख चक्रपाणि अर्यालले बताएका छन् । उनले २२ हजार ८ सय घरधुरी रहेको नगरमा १३ हजार घरधुरीमा ओभरहेड  ट्याङ्कीको खानेपानी सँग प्रत्यक्ष जोडिएको बताए । 
मेयर अर्यालले  खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गा नगरको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् । उनले बाणगङ्गाले खानेपानीको क्षेत्रमा गरेको कार्यको सबैले प्रशंसा गरेको बताए । नागरिकको स्वास्थ्य सँग प्रत्यक्ष रुपमा जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत रहेको पनि उनको भनाइ छ । 

मेयर अर्यालले खानेपानीको गुणस्तर कायम गर्नको लागी नगरपालिकाले सङ्घसंस्थाको नियमित अनुगमन र निरीक्षण गरिरहेको बताए । वाणगङ्गामा अहिले १ लाख भन्दा धेरै जनसंख्या रहेको भन्दै यहाँ खानेपानीको योजनालाई दीर्घकालीन हुनेगरि कार्य गर्न आवश्यक रहेको बताए ।

त्यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहले पछिल्लो ५ देखि ७ वर्षको बिचमा बाणगङ्गा भित्र करिब ५० प्रतिशत भन्दा परिवारलाई सुरक्षित खानेपानी वितरण गरिएको बताए । अध्यक्ष शाहले सुरक्षित खानेपानीको सबालमा जिल्लामै बाणगङ्गा नगरपालिका अब्बल रहेको जनाए । त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सुरक्षित खानेपानी वितरण कार्यमा नगर प्रतिबद्ध रहेको बताए ।

त्यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन भएका छन् । शनिबार बाणगङ्गाको नन्दनगरमा भएको महासंघ बाणगङ्गाको  दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहोर्याएको छ । कार्की आगामी चार वर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।

जसको उपाध्यक्षमा सन्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा यमकुमारी गाह, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि. सि. र शान्ता न्यौपाने चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक धुर्व बेल्बासेले बताए ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले विगतमा पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी पुर्याउन सक्रिय रुपमा लागेको स्मरण गर्दै त्यसलाई अझ सशक्त ढङ्ग बाट लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्