सङ्कटमा रहेका सञ्चार संस्थाका समस्या न्यूनिकरण गर्न नगर प्रतिबद्ध छः मेयर अर्याल


पालिका पत्र

३ असार २०८१, आईतवार २१:४० मा प्रकाशित

बाणगङ्गा, असार ०२ । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सञ्चार क्षेत्रको समस्या न्यूनिकरण गर्न नगर प्रतिबद्ध रहेको बताएका छन्। अन्य व्यवसाय जस्तै कोरोना कालपछि सञ्चार क्षेत्र पनि आर्थिक सङ्कटमा परेकोमा आफू अवगत रहेको भन्दै उक्त समस्या समाधान गर्न नगरले सक्ने सहयोग गर्ने बताए।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि आज नगरपालिकामा नगरभित्रका सञ्चारकर्मी सँग भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । नगरका मात्र नभएर जिल्लाभरका हरेक सञ्चारकर्मीलाई बचाउनको लागि पालिकाले नियम र कानुनले मिले सम्म सहयोग गरिरहेको भन्दै त्यसलाई अझ खुला गरेर जाने बताए ।

फरक प्रसङ्गमा सञ्चारकर्मीले राखेका प्रश्नहरूको सम्बोधन गर्दै मेयर अर्यालले कहिँकतै अनियमितता भएको प्रमाण लिएर आए आफू तुरुन्त कारबाहीमा उत्रने समेत बताए । स्थानीय तहको कुनैपनि काममा आर्थिक अनियमितता नभएको दाबी गर्दै यदि कसैले प्रमाण सहित पुष्टि गर्न आउँछ भने आफूले तत्काल कानुनी कारबाहीको लागि एक्सनमा उत्रने उनले बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आगामी आर्थिक वर्षको लागि पालिकाले ‘ब्रान्ड बाणगङ्गा बिलिभ बाणगङ्गा’ भन्ने नारालाई मध्यनजर गर्दै बजेट विनियोजन गर्ने बताए। सञ्चारकर्मी, सञ्चार गृह र सम्पूर्ण सञ्चार क्षेत्रको संरक्षण, अनुगमन, निरीक्षण र नियमन गर्नको लागि पालिका एउटा विशेष योजना ल्याउने तयारीमा रहेको समेत उनले जानकारी दिए।

कार्यक्रममा सञ्चारकर्मीहरू, सञ्चार गृह र सञ्चारकर्मी अहिले अत्याधिक आर्थिक सङ्कटमा परेको भन्दै माथि उकास्न, जिल्लाका सम्पूर्ण सञ्चारकर्मीको पक्षमा काम गर्नुपर्ने, रेडियो, टेलिभिजन र पत्रिका मात्र नभएर अनलाइनमा आवद्ध सञ्चारकर्मीलाई पनि बचाउनुपर्नेमा जोडदार माग उठेको थियो । उनीहरूले पालिकाका सामाग्री उत्पादन तथा प्रकाशनमा गुणस्तरीयता जाँचको समेत माग उठाएका थिए ।

कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, नगरका कर्मचारी, नगरभित्रका सक्रिय सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्