कपिलवस्तु नगरलाई हराभरा बनाउन ‘एक युवा, पाँच बिरुवा अभियान’


पालिका पत्र

२३ असार २०८१, शनिबार २०:१५ मा प्रकाशित

असार २२ गते । प्राचिन बुद्धनगरी एवम् ऐतिहासिक कपिलवस्तु नगरपालिकामा ‘एक युवा पाँच बिरुवा’ अभियान संचालन गरिएको छ । नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि अभियानको थालनी गरिएको हो । शनिवार अबिरल बर्षा र झरीको बावजुत नगरबासीहरुको उत्साहजनक सहभागीताका बिच लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बेगमबेलिया प्रजातिको फुलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रदेश सदस्य सुधाकर पाण्डेयले प्राचिन नगरीलाई हराभरा बनाउन गरिएको यो अभियान निकै राम्रो भएको बताए । ‘यो बुद्धनगरीलाई सबै मिलेर स्वच्छ हराभरा बनाउनु पर्छ’ उनले भने । उनले आफुले पनि प्रदेश सरकारसंग यो नगरपालिकाको विकासका लागि ठोस पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख सुदीप पौडेलले ऐतिहासिक र प्राचिन नगरीलाई हरियो शहरको रुपमा विकास गर्न अभियान संचालन गरिएको बताए । उनले बुद्धनगरीलाई हेर्न लायक बनाउन यो अभियानले समेत मद्त मिल्ने बताए । अभियानका संयोजक कालीपद शर्मा (जनसन)ले जमुहार देखि नयाँटोल हँुदै छोट्की तौलिहवा सम्मको दुबै तर्फको मेडियनमा बृक्षारोपण गरिने बताए । उनले यो अभियानले नगरलाई हराभरा बनाउन मद्त मिल्ने बताए । शनिवारको अभियानमा जमुहार चोकदेखि प्रशासन चोक सम्म १२ सय मिटर क्षेत्रका मेडियनमा बेगमबेलिया जातको बिरुवा रोपिएको नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताए ।

दुई दुई मिटरको दुरीमा साढे सात सय बिरुवाहरु रोपिएका छन् । चार चरणमा चल्ने अभियानमा ४ किलो मिटर क्षेत्रमा बृक्षारोपण गरिनेछ । यस बर्ष बहादुरगंज चोक देखि प्रशासन चोक हुदै नयाँटोल र बहादुरगंज जान चोक सम्म बृक्षारोपण गरिनेछ । यस बर्ष कुल साढे २२ सय बिरुवा रोपिने छ । यस बर्षको बृक्षारोपणका लागि कुल १५ लाख खर्च भएको ईन्जीनीयर शैनीले बताए ।

यस्तै नगरपालिका देखि बुद्धपदम बिद्यालय सम्म दुबै तर्फ गरी ३ सय ६० मिटर मेडियनमा ताराजालीका लागि ३९ लाख खर्च भएको छ । यस्तै थप तारजालीका लागि ५५ लाखको ठेक्का समेत निकालिएको छ । छाडा चौपायालाई मध्यनजर गरी बृक्षारोपण गरिएको प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।

बेगम बेलियालाई छाडा चौपायाले खादैनन् । रोपेको एक महिना मै फुल्ने, ९ महिना सम्म फुलीरहने, ७० प्रशितशत भाग फुलले ढाकेको हुने, पानी कम चाहिने मलिलो माटो नभए पनि ह्ुने, सिचाई गरी नहनु नपर्ने र कटिङ गरी डिजाईन समेत निकाल्न सकिने भएकाले बेगम बेलिया बृक्षारोपणका लागि यहाँ उपयुक्त रहेको अर्यालले बताए ।

यो बृक्षारोपण अभियान र नयाँ जडान भएको लाईटिङले नगर अब सुन्दर देखिने छ । अभियानमा सुरक्षा निकायका प्रमुख, बिभिन्न गैर सरकारी सस्था, नगरबासीहरुको सहभागीता थियो ।

हेर्नुहोस् तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्