असार २८ गते । कपिलवस्तुका दुई पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १५ महिना देखि ५९ महिना सम्म पालिका भित्र रहेको सबै बालबालिका खोपका पहुचमा पुगेका प्रतिबेदन पेश गरिए पछि कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका बनेको हो ।
सो अवसरमा खोप समन्वय समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेललाई पुर्ण खोप सुनिश्चित पालिकाको प्रमाण पत्र प्रदान गरे । सो अवसरमा प्रमुख पौडेलले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले सरकारी स्वास्थ्य संस्थाको स्तर बढाउदै जाने बताउछन् ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले वडाहरुले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले स्वास्थ्य चौकीहरुको स्तर बढाउदै जानु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले कपिलवस्तुलाई यही असार मसान्त भित्रै पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी अघि बढाएको बताए । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखालाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसैगरि, कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई समेत पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख आचार्यले विश्वले नै पहिलो प्राथमिकतामा राखेको पुर्ण खोप अभियान् पुरा हुनु खुसिको कुरा भएको बताए । उनले पूर्ण खोप सुनिश्चितता भएसंगै पूर्ण खोप कार्ड अनिवार्य बितरण पर्ने बताए । पुर्ण खोप कार्ड स्वास्थ्यको लालपुर्जा कार्ड भएको भन्दै अनिवार्य बितरण हुनुपर्ने उनले बताए ।
कार्यक्रममा कृष्णनगर पालिकाका नगर प्रमुख रजत प्रताप शाहले पूर्ण खोप सुनिश्चितता नगरको लागि गौरवको अभियानको रुपमा रहेको बताए । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाएर नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा पुन प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको समेत जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले सुन्दर नगर बनाउन हरेक नागरीकले आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए । सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले बताए ।