कपिलवस्तु, असार ३० गते ।
कपिलवस्तुको प्रमुख भन्सार नाकाका रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले पैठारीमा ब्यापक अनियमितता गरेको खुलेको छ । कृष्णनगर भन्सार कार्यालयले विभिन्न मालसामानको जाँचपास र पैठारी गर्दा राजस्व कम मूल्याङ्कन गरी ब्यापक रुपमा अनियमिता गरेको पाइएको हो । आर्थिक वर्ष २०७९/०८० मा मालसमानको साफ्टा जाँचपास, स्वास्थ्य जोखिम कर, राजस्व संकलन लगायतमा अनियमितता गरेको खुलेको छ ।
भन्सार बिभाग अन्र्तगतका ३९ भन्सार कार्यालय मध्ये सबेभन्दा बढी भन्सार राजश्व संकलन गर्ने शीर्ष दश कार्यालयको पुछारमा कृष्णनगर भन्सार कार्यालय रहेको महालेखापरीक्षकको ६१ औं बार्षिक प्रतिवेदनले देखाएको छ । मुलुकका सबैभन्दा ठुलो भन्सार कार्यालयबाट प्राप्त हुने राजस्व कम संकलन भएकै कारण राज्यकोषमा त्यसको प्रत्यक्ष असर परेको बताईएको छ ।
के-के मा गरियो राजश्व छुट !
आर्थिक ऐन, २०७९ र २०८० को अनुसूची १ को दफा ६ (४) मा साफ्टा छुटअन्तर्गत नेपाल सरकारको संवेदनशील सूचीमा नपरेका शीर्षकका मालवस्तु सम्बन्धमा साफ्टा छुटको लागि साफ्टा उत्पत्तिको प्रमाणपत्र उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएको बीजक लगायतका कागजातमा उल्लेख भएको हुनुपर्ने उल्लेख छ ।
तर कृष्णनगर भन्सार कार्यालयबाट भन्सार उपशीर्षक ०९०४.२१ बाट सुकेको रातो खुर्सानी, भन्सार उपशीर्षक ०८०१.११ बाट कोकनट कोप्रा र भन्सार उपशीर्षक ०८०६.२० बाट किसमिस साफ्टा छुटमा जाँचपास गर्दा रू. १ करोड २६ लाख १९ हजार राजस्व छुट भएकोले उक्त रकम असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
साफ्टा छुटबाट एककरोड २६ लाख १९ हजार राजश्व छुट गराई भन्सारले अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयको ठहर छ । त्यसै गरी आर्थिक ऐन, २०७९ अनुसूची १ को दफा १९ मा साफ्टा छुटअन्तर्गत नेपाल सरकारले संवेदनशील सूचीमा समावेश गरेका मालवस्तुमा साफ्टा छुट नहुने उल्लेख छ । पैठारीकर्तालाई लाभ हुने गरि कृष्णनगर भन्सारले कार्य गरेको बताइन्छ ।
स्वास्थ्य जोखिम करमा समेत अपारदर्शिता !
आर्थिक ऐन, २०७९ को दफा ७ मा विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित खाने सुर्तीमा प्रतिकिलोग्राम ६० रुपैयाँका दरले पैठारीका बखत भन्सार बिन्दुमा असुल गरिने उल्लेख छ । यद्यपि कृष्णनगर भन्सार कार्यालयका विभिन्न पैठारीकर्ताले कट टोबाकोलाई भन्सार उपशीर्षक २४०३.९९.३० बाट पैठारी गर्दा भन्सार बिन्दुमा नै कर लगाई जाँचपास गर्नुपर्नेमा नलगाई जाँचपास गर्दा छुट गरेको छ । भन्सारले रू. १ करोड ८३ लाख ७१ हजार छुट दिएर राजश्वमा गिरावट आउने कार्य गरेको छ ।
प्रयोगशाला परीक्षण प्रतिवेदन नै संलग्न छैन !
कृष्णनगर भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताहरूले डाइड कटन फ्रेबिक्स पैठारी गर्दा ३ करोड २९ लाख १ हजार रुपैया राजश्व छलेको बुझिएको छ । भन्सार उपशीर्षक ५२१०.०० (२०० ग्राम भन्दा बढी तौल नभएको मुख्यतः वा पूर्णतया मानव निर्मित रेशा मिसिएको, तौलमा ८५ प्रतिशतभन्दा कम कपास मिलाइएको, कपासका बुनिएका कपडा) बाट १५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा भन्सार उपशीर्षक ५२०८. ३२ बाट साफ्टा सुविधा अन्तर्गत जाँचपास गरेको छ । यसैगरि, प्रज्ञापनपत्र साथ संलग्न कागजातमा प्रयोगशाला परीक्षण प्रतिवेदन समेत संलग्न नगरिएको पाइएको छ ।
मूल्य अभिवृद्धि करसमेत छुट !
कृष्णनगर भन्सार कार्यालयले २४ लाख २२ हजार मूल्य अभिवृद्धि करमा समेत छुट दिएको पाइएको छ । मूल्य अभिवृद्धि कर आर्थिक ऐन, २०७९ को अनुसूची १ को दफा १४ को उपदफा २ (छ) (आर) मा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सिफारिसमा ब्याट्री बक्स, सेपरेटर र ट्युबुलर ब्यागको पैठारीमा भन्सार महसुल छुट हुने व्यवस्था छ । कृष्णनगर भन्सार कार्यालयका एक पैठारीकर्ताले सो केन्द्रको सिफारिसको आधारमा मूल्य अभिवृद्धि करसमेत छुट भएकोले जाँचपासमा छुट भएको पाइएको छ ।
राजश्व लक्ष्य अनुरुप ५० प्रतिशत असुली भएन !
कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०७९/८० मा कुल राजश्व लक्ष्यको आधा पनि असुल उपर गर्न सकेको छैन् । आव २०७९÷८० मा कुल रु. ७ अर्ब ६९ करोड राजश्व लक्ष्य रहेकोमा रु. ४ अर्ब ६ करोड मात्रै राजश्व असुल गरेको छ । लक्ष्यको तुलनामा असुली प्रतिशत जम्मा ५२.७९ प्रतिशत मात्रै भएको पाइएको छ । कुल भन्सार राजश्वमा कार्यालयको हिस्सा १.०४ प्रतिशत न्यून मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ ।