कपिलवस्तु अस्पतालमा मनसुनजन्य रोगका बिरामी बढे ! छालारोग बिशेषज्ञ अभाव कहिले सम्म ?


पालिका पत्र

९ श्रावण २०८१, बुधबार १४:२३ मा प्रकाशित

श्रावण ९ गते । कपिलवस्तु अस्पताल तौलिहवामा भाइरल ज्वरोको बिरामी बढेका छन् । अस्पताल प्रशासनका अनुसार ५५ शैय्या क्षमताको अस्पतालमा दैनिक करिब पाँचसय भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

मौसममा आएको परिवर्तनसँगै यहाँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।

कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, बुद्धभूमि र महाराजगंज नगरपालिका क्षेत्रका बिभिन्न गाउँहरुमा अहिले भाइरल फैलिएको छ । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शैय्या अभाव भएको छ ।

भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको अवस्थामा छाला सम्बन्धी बिरामी आउने दर बढेको अस्पतालका जनसम्पर्क अधिकृत रत्नाकर शुक्लाले बताए । उनले भने, केही दिन यता अस्पतालमा बिरामीको सङख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’

बर्षायाममा यस क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल तौलिहवाले बताएको छ । यता, जिल्ला अस्पताल तौलिहवामा छाला सम्बन्धी बिरामीको चाप बढेर गएता पनि छाला सम्बन्धी चिकित्सकको अभाव भने कायमै छ । भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।

यसैबीच, बढ्दो गर्मीसँगै यहाँमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक ८० देखि ९० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको शुक्लाले जनाए ।

प्रतिक्रिया दिनुहोस्