बाणगङ्गाको पिपरा अस्पतालले शुरु गर्यो पोष्टमार्टम सेवाः ७३ वर्षीय पुरुषको शव परीक्षण

पिपरा अस्पतालको पोष्टमार्टम सेवासँगै शव परीक्षणको लागि टाढा यात्रा गर्नुपर्ने समस्या अन्त्य


पालिका पत्र

२१ श्रावण २०८१, सोमबार १८:२७ मा प्रकाशित

रविना कडेल, साउन २१ ।
बाणगङ्गा नगरपालिकाको पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिका घोषणा भएको करिब १० वर्ष पछि पिपरामा पोष्टमार्टम सेवा सुरु भएको हो । सोमवार अस्पताललेले पहिलो केसको रूपमा वाणगङ्गा नगरपालिका वडा नं. ९ जिनुवाका ७३ वर्षका पुरुषको पोष्टमार्टम गरेको अस्पतालले जनाएको छ । शवलाई अस्पतालका चिकित्सकहरू डा. गणेश क्षेत्री, डा. सुदीप पौडेल लगायतको टोलीले पोष्टमोर्टम गरी सेवा थालनी गरिएको हो ।

पोष्टमार्टम सेवाले बाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका, रूपन्देहीको सैनामैन तथा कञ्चन गाउँपालिकाका स्थानीय नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । 


यसअघि शव परीक्षण सेवाका लागि बाणगंगाका नागरिक जिल्ला अस्पताल तौलिहवा अथवा ३५ किलोमिटर टाढा रहेको बुटवल सम्म पुग्नु पर्ने र मृतकका शोकाकुल परिवारले थप झन्झट र समस्या बेहोर्नु परेको थियो । पिपरा अस्पतालमा पोष्टमार्टम सेवा थपिएपछि अव शव बोकेर अन्त जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसोत अस्पतालमा शवलाई दुई तिन दिन राख्नु परेमा त्यस्तो सुविधा नरहेको अस्पतालका चिकित्सक डा. गणेश क्षेत्रीले बताए । 


यसैबीच अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयबाट करिव ३५ लाख वरावरको स्वास्थ्य मेसेनरी औजार पनि प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार महिला रोग विशेषज्ञ सहितको सेवा ‘CEONC’ को सेवाको लागि सरकारबाट ३४ लाख बजेट पनि प्राप्त भएको छ । नगरप्रमुख अर्यालको पहलबाट उक्त सेवा सामाग्री प्राप्त भएको पौडेलले बताए ।


पिपरा अस्पतालले आगामी दिनमा अप्रेसन कक्षको स्थापना, थाइराइड परीक्षणका लागि अत्याधुनिक मेसिन खरिद गर्ने, मातृ र शिशु स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले ‘CEONC’ साइटको रूपमा अस्पताललाई स्तरोन्नति गर्ने, फार्मेसी सेवा चौबीसै घण्टा ल्याब र एक्स रे सेवा उपलब्ध गराउने जर्मको गरेको छ । यस्तै दन्त रोग विभाग र फिजियोथेरापी सेवा तथा अस्पतालबाट नै विशेषज्ञ सेवा प्रदान गरिने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्