लमहीका मेयरले लगाए आफ्नै घरमा डोजर


पालिका पत्र

५ भाद्र २०८१, बुधबार १६:०७ मा प्रकाशित

दाङ, ०५ भदौ । दाङ लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नो घरमा डोजर लगाएका छन्।

हुलाकी सडक बिस्तार हुँदा सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो। नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थालेका हुन्।

‘यो पुरानो घर हो। धेरै कार्यालय बसे। मान्छेहरूको बस्ने ठाउँ भयो। अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो,’ उनले भने, ‘सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानको लागि मैले पहिलो डोजर आफ्नै घरमा लगाएँ।’

डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए।

बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो। साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन। सडक कालोपत्रे मात्रै गरिएको थियो। झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो।

लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ। जसले गर्दा बजार राम्रोसँग बिस्तार हुन सकेको थिएन। अब बजारको सुन्दरता र यहाँको विकासको लागि काम गरिने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताए।

‘घरमा भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छन् कि भन्ने चिन्ता छ। हामी त्यस्तो हुन दिँदैनौं। सडक खाली हुँदै जान्छ अनि नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ,’ उनले भने, ‘यो सडक खाली गराउने अभियानमा सबै नगरवासीसँग अपिल गर्दछु।’

सडक डिभिजन कार्यालय, दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रूपमा लमही–कोइलावास सडकको नामाकरण सहिदमार्गको रूपमा भएको भन्दै यसको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताए।

‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो,’ उनले भने, ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ’

सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागि काम गर्ने जनाएको छ।

लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई विसं २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो। ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३/४६ किलोमिटर सडक निर्माण गरिएको हो।

यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो। ३६ करोडबढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ। तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरूले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्