उद्धार सामग्री खरिदका लागि बाणगंगालगायत पालिकाले गत वर्ष नै उपलब्ध गराएका थिए बजेट


पालिका पत्र

26 September, 2026 7:53 pm मा प्रकाशित

कपिलवस्तु, १० असोज । बाढी, डुबान तथा अन्य विपद्का समयमा तत्काल उद्धारका लागि आवश्यक पर्ने साधनस्रोत व्यवस्थापनमा कपिलवस्तुका तीन स्थानीय तहले गत आर्थिक वर्षमै बजेट उपलब्ध गराएको पाइएको छ । बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सशस्त्र प्रहरी बल नेपाल बिन्दवासिनी गणले डुङ्गालगायतका उद्धार सामग्री खरिद तथा व्यवस्थापन गरेको हो ।

स्थानीय तहले आफ्नै नाममा उद्धारका साधन खरिद गरेर राख्नुको सट्टा दक्ष जनशक्ति र उद्धार क्षमता भएको सुरक्षा निकायमार्फत सामग्री व्यवस्थापन गर्ने नीति लिएको देखिएको छ । शसस्त्र प्रहरी पिपराका प्रहरी नायव उपरीक्षक प्रेम सिंह धामीले पालिकाले खरिद गरेको रबर बोट आगामि दिनमा पिपरा मै राख्ने जनाए । उद्धार टोलि पिपरामै भएकाले आगामि दिनहरुमा विपदमा सहज हुने छ, उनले भने । विपद् उद्धारका लागि अन्य आवश्यक दक्ष जनशक्ति सशस्त्र प्रहरी बल नेपाल बिन्दवासिनी गण, तौलिहवामा रहेकाले रबरबोट तथा अन्य उद्धार सामग्री त्यहीँ राखिएको छ ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले स्थानीय तहले सुरक्षा निकायमार्फत उद्धारका साधन व्यवस्थापन गर्न बजेट उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार बाढी तथा डुबानका बेला स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी तत्काल उद्धार कार्य सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले बजेट उपलब्ध गराइएको हो । विपद् आउनुअघि नै आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न सके जोखिमका बेला तत्काल परिचालन गर्न सहज हुने उहाँको भनाइ छ ।

‘स्थानीय तहले डुङ्गा किनेर राख्नुभन्दा सुरक्षा निकायसँग उद्धारका साधन उपलब्ध हुनु बढी प्रभावकारी हुन्छ,’ नगरप्रमुख अर्यालले भन्नुभयो, ‘विपद्का बेला जहाँ आवश्यकता पर्छ, त्यहाँ सुरक्षा निकायले तत्काल उद्धार टोली र उपकरण परिचालन गर्न सक्छ ।’

बिन्दवासिनी गणसँग हाल ५ थान मोटरबोट र १५ थान स्पिड बोट रहेको जानकारी दिइएको छ। ती सामग्री कपिलवस्तुका साथै आसपासका जिल्लामा बाढी, डुबान तथा अन्य विपद्का घटनामा उद्धारका लागि परिचालन हुने जनाइएको छ ।

यसैबीच, ‘बाणगंगा नगरपालिकाले लामो समयसम्म उद्धारका लागि डुङ्गा खरिद गरेन’ भन्ने विषयमा सार्वजनिक भएका समाचारप्रति नगरप्रमुख अर्यालले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार नगरपालिकाले उद्धार सामग्री व्यवस्थापनमा चासो नदिएको नभई सुरक्षा निकायसँग उपलब्ध साधनको उपयोग हुने गरी बजेटमार्फत सहयोग गरेको हो ।

नगरप्रमुख अर्यालले स्थानीय तहले छुट्टाछुट्टै उद्धार सामग्री खरिद गरेर भण्डारण गर्नुभन्दा सुरक्षा निकायसँगको समन्वयमा स्रोतसाधन व्यवस्थापन र परिचालनको व्यवस्था प्रभावकारी हुन सक्ने बताउनुभयो ।

कपिलवस्तुमा बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले हरेक वर्ष विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन् । उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा प्रयोग गर्न स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

नगरप्रमुख अर्यालले आगामी दिनमा पनि विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन व्यवस्थापन र स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको समन्वयलाई प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्