बाणगङ्गामा जनतासँग नगरप्रमुखः निशुल्क आयुर्वेद चिकित्सक सेवा 


पालिका पत्र

८ आश्विन २०८१, मंगलवार १९:४६ मा प्रकाशित

रविना कडेल,  असोज ०८ । 

बाणगङ्गा आयुर्वेद औषधालयमा “जनतासँग नगरप्रमुख” कार्यक्रम अन्तर्गत पाक्षिक आयुर्वेद चिकित्सकीय सेवाको शुभारम्भ भएको छ। यस सेवाको सुरुवातसँगै प्रत्येक महिनामा दुई पटक, ४ र २१ गते, आयुर्वेद विशेषज्ञद्वारा नियमित चेकजाँच गरिने छ। पहिलो दिन मङ्गलबार आयोजना गरिएको विशेषज्ञ शिविरमा २०९ जनाले निशुल्क चेकजाँच गरी औषधि सेवा प्राप्त गरेका छन्, जसमा १५० पुरुष र ५९ महिला रहेका छन्।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पछिल्लो समयमा सर्वसाधारणहरू आयुर्वेदिक उपचारप्रति आकर्षित भएको बताए । उनले शिविरले ज्येष्ठ नागरिक र नगरवासीलाई महत्त्वपूर्ण सहयोग पुगेको बताए । नगर उपप्रमुख रिता कुमारी थारूले रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धिका लागि आयुर्वेदिक औषधि निकै प्रभावकारी भएको र बिरामीहरूको सङ्ख्या बढ्दै गएको बताइन ।

शिविरमा पाइल्स, फिसर, गानोगोला, कब्जियत, हड्डी भाँचिएको, नसा च्यापिएको, बाथ, सुगर, र प्रेसर जस्ता समस्याहरूको जाँच गराउने सेवा उपलब्ध गराइएको  बाणगङ्गा आयुर्वेद औषधालय शाखा प्रमुख तेजबहादुर सोमैले जानकारी दिए ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख प्रवेश श्रीवास्तव, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका डा. नलिननाथ तिवारी, डा. आशिष चौधरी, र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बालरोग विशेषज्ञ अर्जुनराज शर्माले बिरामीहरूको चेकजाँच गरेको जनाइएको छ ।

कार्यक्रमको अध्यक्षता वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले गरेका थिए भने, स्वागत मन्तव्य वरिष्ठ वैद्य अनुपमा पराजुलीले दिएका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, शाखा अधिकृत केशवराज भट्टराई, र मोतिपुर स्वास्थ्य चौकीका इन्चार्ज हिमलाल घिमिरे लगायतको उपस्थिति थियो  ।

प्रतिक्रिया दिनुहोस्