पर्यटन प्रवर्द्धन र जनचेतना अभियानसहित कपिलवस्तुमा साहसिक खेल प्रतियोगिता


पालिका पत्र

१६ आश्विन २०८१, बुधबार २१:०४ मा प्रकाशित

कपिलवस्तु । यस वर्षको दशैँ, तिहार र छठ पर्वको अवसरलाई लक्षित गर्दै लायन्स क्लब अफ कपिलवस्तुले नयाँ साहसिक खेल “पाउन्ड क्रस विथ रोप” प्रतियोगिता आयोजना गर्न लागेको छ। यस प्रतियोगिता असोज २३ गते फुलपातिको दिन बाणगंगाको वडा न. ३ राजापानिमा पोखरीमाथि गराइने तयारी भइरहेको छ। क्लबले यसअघि साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता सञ्चालन गर्दै आएको थियो, जसले चर्चा कमाएको थियो।

खेल संयोजक राम शुभागे थारुका अनुसार, यो साहसिक खेलमा खेलाडीहरूले पोखरीमाथि १० फिटको उचाइमा राखिएको डोरीमा अड्काइएका रिङहरू समातेर ५० मिटरको दुरी पार गर्नुपर्नेछ। सबैभन्दा छिटो उक्त दुरी पार गर्ने खेलाडीलाई विजेता घोषणा गरिनेछ। यो खेल पहिलोपटक नेपालमा गरिन लागेको थारुले दाबी गरे।

प्रतियोगितामा दुई उमेर समूहको खेलाडीहरूले भाग लिन पाउनेछन् । ८ देखि १६ वर्षका बालबालिकाहरूका लागि छुट्टै संरचना तयार गरिएको छ भने १६ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरूका लागि अर्को प्रतियोगिता हुनेछ। यस प्रतियोगितामा सहभागिता जनाउने बालबालिबाले भने अभिभावकको स्वीकृति लिनुपर्नेछ। सबै सहभागिले १ हजार रुपैयाँको फारम भर्नु पर्ने छ ।

नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा प्रथमले ५१ हजार, दोस्रोले २५ हजार र तेस्रोले पनि आकर्षक पुरस्कार पाउनेछन्। जुनियरतर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। यस प्रतियोगिताले खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्नका साथै अटिजम समस्या र लागू पदार्थ दुर्व्यसनविरूद्ध जनचेतना जगाउन मद्दत पुग्ने क्लबका अध्यक्ष नवदत्त घिमिरेले बताए।

क्लबले खेलाडीहरूको सुरक्षालाई विशेष ध्यान दिँदै आवश्यक सावधानी अपनाउने योजना बनाएको छ। सुरक्षाका लागि उच्च सतर्कता अपनाइने र खेलाडीहरूलाई कुनै जोखिम नहुने व्यवस्था गरिनेछ।

यस प्रतियोगितालाई सफल बनाउन क्लबका पूर्व अध्यक्ष सुरेन्द्र घिमिरेले सबैको साथ र सहयोग आवश्यक रहेको बताए। यसैबीच, कपिलवस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लायन्स क्लबले हरेक वर्ष नयाँनयाँ खेल आयोजना गरी जिल्लाको प्रचारप्रसारमा योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गरे।

राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यस साहसिक खेलको आयोजना प्रति आफूहरू निकै उत्साहित भएको बताउँदै, प्रतियोगिता हेर्नको लागि कुनै शुल्क नलाग्ने जानकारी गराइन्।

पहिलेका दुई संस्करणको साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता विश्वव्यापी चर्चा पाएको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएको क्लबले जनाएको छ। यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा क्लबका प्रथम उपाध्यक्ष नरायण पौडेलको स्वागत मन्तव्यपछि सचिव दामोदर पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्