कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन, ६० बिरामीलाई दैनिक सेवा


पालिका पत्र

१८ आश्विन २०८१, शुक्रबार ०९:२७ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधारका लागि सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गर्दै उनले निरोगी समाज निर्माणका लागि सामुदायिक अस्पतालहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। आचार्यले नीति र कार्यविधिमा सुधार गरेर प्रदेश सरकारले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

उनले नसर्ने रोगहरूको समस्या बढ्दै गएकोले नागरिकले जीवनशैलीमा परिवर्तन गर्न आवश्यक रहेको बताए। स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई प्रभावकारी बनाउने योजना रहेको उनले प्रस्ट पारे। लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, र कुपोषण उच्च भएको र यसका लागि प्रदेश सरकार सामुदायसँग सहकार्य गर्न तयार रहेको मुख्यमन्त्री आचार्यले बताए।

कपिलवस्तुमा सञ्चालनमा आएको सामुदायिक डायलाइसिस सेन्टरले मृगौला रोगी बिरामीहरूलाई सेवा प्रदान गर्नेछ। यस सेन्टरमा १० डायलाइसिस मेसिन राखिएका छन्, जसबाट दैनिक ६० जना बिरामीले सेवा पाउनेछन्। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यो सेन्टर स्थापना गरेको हो। यसअघि बिरामीहरूलाई सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो।

डायलाइसिस सेन्टर स्थापना गर्न ५ करोड रुपैयाँको लगानी गरिएको छ। अस्पतालले एकजना बिरामीलाई हप्तामा दुईदेखि तीन पटक डायलाइसिस गर्नुपर्ने अवस्थालाई सम्बोधन गर्ने जानकारी दिएको छ। लुम्बिनी प्रदेशका चारवटा अन्य स्थानमा पनि यस किसिमका डायलाइसिस सेन्टरहरू सञ्चालनमा छन्।

स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउन सरकारले सामुदायिक अस्पतालहरूसँग सहकार्य गरिरहेको बताए। पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरूले नागरिकको स्वास्थ्यमा अतुलनीय योगदान पुर्याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठ, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौलारोग विशेषज्ञ डा.रजत कायस्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गरेका थिए ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक डा. समिर गौतमको स्वागत मन्तव्य र बावुराम बोहराको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्