बाणगङ्गा खोलामा सेटिङमा चोरी हुने आरोप, प्रहरीको सहकार्यमा सुधार ल्याउन नागरिकको अपिल


पालिका पत्र

२२ आश्विन २०८१, मंगलवार २१:३२ मा प्रकाशित


बाणगंगा, २२ असोज । समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नगर प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ गर्न आवश्यक रहेको सुझाव नागरिकहरुले दिएका छन्। मङ्गलवार कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजित समुदाय–प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरुले शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न समस्याहरूबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।

नागरिकहरूले विशेषगरी चाडपर्वको समयमा हुने उश्रीङ्खल गतिविधि, चोरी, लागुपदार्थ दुव्र्यसनी, हत्या र आत्महत्या जस्ता अपराधका घटनामा वृद्धि भएको भन्दै यी समस्याहरूको तत्काल समाधानको माग गरेका छन्। त्यस्तै, बाणगङ्गा खोलामा हुने चोरी र तस्करीमा सेटिङ हुने गरेको आरोप पनि लगाएका थिए। स्थानीय व्यापारी तथा व्यवसायीले प्रहरीको निगरानीको अभावले सीमा क्षेत्रमा ठूला आर्थिक समस्याहरू झेल्नुपरेको गुनासो राखेका थिए।

कार्यक्रममा नागरिकहरूबाट उठाइएका गुनासा तथा प्रश्नहरूको सम्बोधन गर्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले, नगरपालिकाले प्रहरीसँगको सहकार्यलाई सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले नदीजन्य पदार्थको चोरी निकासी रोक्न नगर प्रहरी र नेपाल प्रहरीको सक्रियता उल्लेखनीय रहेको स्पष्ट पार्नुभयो। त्यस्तै, मेयर अर्यालले ठेलागाडा तथा बजार व्यवस्थापनमा स्थानीय समुदायसँग समन्वय गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख, लोकेन्द्र बहादुर जी.सी.ले पनि कार्यक्रमको औचित्यलाई उजागर गर्दै समुदायले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले प्रमुख समस्याहरूको गहिरो अध्ययन भइरहेको र समग्र नगरको शान्ति सुरक्षा कायम गर्न प्रहरी टिम निरन्तर क्रियाशील रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रहरी नायव निरिक्षक नवीन पाण्डेले प्रहरीका विभिन्न रचनात्मक गतिविधिहरू, प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाहरू, र प्रहरीद्वारा सङ्कलित राजश्वसम्बन्धी विवरणहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू, सशस्त्र बेसक्याम्प पिपराका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र अन्य समाजिक प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रहरी इश्वर भट्टराईले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रहरी वरिष्ठ नायव निरिक्षक कृष्ण प्रसादले दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्