कृष्णनगर लिंकगेट: सुरक्षा व्यवस्था फितलो गैरकानुनी कारोबार फस्टाउँदै


पालिका पत्र

३ कार्तिक २०८१, शनिबार १८:१६ मा प्रकाशित

कपिलवस्तु, ३ कार्तिक । बुधबार दिउँसो २ बजे कृष्णनगर लिंकगेट हुँदै भारततर्फ गएकी एक महिलालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि १ किलो चरेशसहित पक्राउ गरियो । बाँसी सिद्धार्थनगरकी मिना नामक ती महिलाले आफू लागूऔषध ओसारपसारमा भरिया भएको र विगत ३ दिनमा ५ पटक कृष्णनगर लिंकगेट हुँदै चरेश तस्करी गरेको बयान दिएकी छन्।

१ किलो चरेशसहित लिंकगेट हुँदै भारततर्फ गएकी महिला

यसअघि, असोज ४ गते पनि भारतीय मोटरसाइकलमा आएका दुई जना व्यक्तिहरू कृष्णनगर लिंकगेट हुँदै स्वचालित पेस्तोल र केही लागूऔषधसहित नेपाल प्रवेश गरेका थिए। स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जले ती व्यक्तिहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमा उत्तरप्रदेशका प्रितम कुमार र सुरज द्विवेदी रहेका थिए। उनीहरूको साथबाट रिभल्भर, पाँच गोली र केही लागूऔषध बरामद भएको थियो। बयानमा उनीहरूले लिंकगेट हुँदै नेपाल प्रवेश गरेको स्वीकारेका थिए।

भारतीय मोटरसाइकलमा आएका दुई जना व्यक्तिहरू कृष्णनगर लिंकगेट हुँदै स्वचालित पेस्तोल र केही लागूऔषधसहित नेपाल प्रवेश

त्यसैगरी, असोज १० गते ब्राउनसुगर नेपाल ल्याउने क्रममा भारतीय एसएसबीले सिद्धार्थनगरका अर्जुन कुमार र अनिल कुमारलाई ११.५ ग्राम ब्राउनसुगरसहित दिउँसो १ बजे पक्राउ गरेको थियो। तिनीहरूले पनि लागूऔषधको कारोबारका लागि लिंकगेट प्रयोग गरेको बयान दिएका थिए। यी घटनाहरूले कृष्णनगर लिंकगेटमा सुरक्षाको कमजोर अवस्थालाई उजागर गरेका छन्।

लागूऔषधको कारोबारका लागि लिंकगेट प्रयोग गरेका सिद्धार्थनगरका अर्जुन कुमार र अनिल

सुरक्षा जाँचभन्दा पनि नेपाली नागरिकका झोला खानतलासी र नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनबाट अवैध रकम उठाउने उद्देश्यका लागि लिंकगेट प्रयोग भइरहेको आरोप लागिरहेको छ। जिल्ला सुरक्षा चौकीहरूमा सुरक्षाकर्मीको अभाव हुँदा पनि लिंकगेटमा पर्याप्तभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्। तर, लागूऔषध र हतियारसहित व्यक्तिहरू सजिलै नाकाबाट प्रवेश गर्नु सुरक्षाकर्मीहरूको भूमिकाप्रति शंका उत्पन्न गरिरहेको छ।

अघिल्लो वर्ष फागुन महिनादेखि वरिष्ठ सई महेन्द्र पोख्रेल लिंकगेटमा कार्यरत भए पनि हालसम्म सुरक्षामा सुधार नदेखिएको र लागूऔषध कारोबारीहरू सहजै सीमा पार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्