बाणगंगामा नदीजन्य पदार्थ तस्कर सक्रिय, प्रहरी प्रशासन बेखबर 


पालिका पत्र

10 November, 2024 7:18 pm मा प्रकाशित

बाणगंगा, कार्तिक २५ । कपिलवस्तुको बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी र निकासी तीव्र रूपमा बढ्न थालेको छ। हरेक वर्ष यो समय बाणगंगा नदीको दोहन गर्ने समूह सक्रिय हुने गरेकोमा यस वर्ष पनि स्थिति उस्तै रहेको छ। स्थानीयका अनुसार साउन महिना सकिन नपाउँदै नदीबाट गिट्टी, बालुवा र अन्य सामग्रीको चोरी व्यापक रूपमा भइरहेको छ।

रातको समयमा मधुवनको सिरानामा दर्जनौं ट्याक्टरको प्रयोग गरी नदीजन्य पदार्थ चोरी गरिँदै आएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूका अनुसार रातभर नदीको दोहन भई रहेको भए पनि प्रहरी प्रशासन बेखबर छ, नत नगर प्रहरीले नै यसलाई गम्भीरतापूर्वक लिएको छ।

स्थानीयहरूले यी चोरीमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यी तीन दलले यो मुद्दामा गम्भीरता नलिँदा चोरीको क्रम वर्षेनी बढ्दै गइरहेको छ। चोरी नियन्त्रण गर्न यी दलहरूले ध्यान दिनु आवश्यक रहेको स्थानीयको भनाइ छ।

प्रहरी, व्यवसायी र केही स्थानीयको मिलेमतोमा चोरी सञ्चालन हुने गरेको आरोप समेत उठेको छ। कतिपय अवस्थामा चोरीका प्रमाण हुँदाहुँदै पनि सम्बन्धित निकायले खबरलाई वेवास्ता गर्दै आएको स्थानीयहरूले बताएका छन्।

बाणगंगाबासीका अनुसार प्रहरीलाई पटकपटक खबर गरे पनि उनीहरूले गम्भीर चासो नदेखाउनुको कारण ‘सेटिङ’ रहेको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्