गोरु तस्करहरुलाई धमाधम मुद्धा !


पालिका पत्र

२९ कार्तिक २०८१, बिहीबार १३:४६ मा प्रकाशित

कपिलवस्तु, २८ कार्तिक । कपिलवस्तु प्रहरीले गोरु तस्करहरुलाई धमाधम मुद्धा चलाउन थालेको छ । अवैध रुपमा भारतबाट गाईगोरु नेपाल ल्याउने र उनीहरुलाई चरम यातना दिदै ओसारपसार गर्ने गिरोहहरुलाई पक्राउ गर्दै मुद्धा चलाएको हो ।

एक साता भित्रै कपिलवस्तु प्रहरीले ४ वटा ट्रक सहित ८ जनालाई पक्राउ गरि पशुपंक्षी सम्बन्धी कसुर मुद्धा दर्ता गरेको छ । बुधबार राती ३ बजे वडा प्रहरी कार्यालय चन्द्रौटाले गोरु लोड गरि जादै गरेको ना ६ ख ३३४८ नम्बरको ट्रक सहित चालकलाई पक्राउ गरेको छ ।

गोरुहरुको नाक र पुच्छर डोरीले बाधेको, खुट्टा बाधेको, सिङ बाट रगत बगेको र केहि घाइते अवस्थामा उनीहरुलाई उद्धार गरि छाडिएको र चालक निजगढ १ बारा का देव थोक्कर तथा सुकलाल बोलनलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिए । पक्राउ दुबैलाई पशुपंक्षीलाई निर्दयी व्यवयहार अन्र्तगत मुद्धा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरिएको छ ।

यसै गरि वडा प्रहरी कार्यालय तौलिहवाले बुधबार विहान ४ बजे वडा नं. ३ चौबिस हजार चोकबाट गोरु लोड गरेको ना ६ ख १३०५ नम्बरको ट्रक तथा चालक नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा झापा लैजान लागेका ३१ वटा गोरु ट्रक भित्र बाँधेको अवस्थामा भेटिएको थियो ।

ट्रक चालक कैलाश गाउँपालिका १० मकवानपुरका भिम बहादुर तितुङलाई पशुपंक्षी सम्बन्धी कसुर मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । यसै गरि मंगलबार राती ईलाका प्रहरी कार्यालयले पनि गोरु सहित एक ट्रकलाई पक्राउ गरेको छ ।

सडक चेकजाँचको क्रममा प्रहरीले २४ वटा गोरु लोड गरि झापा लैजादै गरेको बा प्र.०३–००१ ख १९९२ नम्बरको ट्रक र त्यसमा रहेका ४ जनालाई नियन्त्रणमा लिएको थियो । लोड गरिएका गोरुहरुलाई यातना हुनेगरि पुच्छर बाँधी झुण्ड्याएको, नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

पक्राउ पर्नेमा विराटनगर ३ का हेमु श्रेष्ठ, रमेश श्रेष्ठ, सुनसरी कुशहा १३ का इरशाद आलम र समिम आलम रहेका छन् । उनीहरुलाई पनि सोहि कुसर अन्र्तगत मुद्धा दायर गरि ७ दिनको म्याद थप गरिएको छ । कपिलवस्तु प्रहरीले २३ गते बारा निजगढ नगरपालिका ४ बस्ने कमल धामीलाई २१ वटा गोरु झापा लैजादै गर्दा पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय गणेशपुरले विहान ४ बजे ना ६ ख ३७०८ नम्बरको ट्रकमा यातना दिएर राखिएका गोरु सहित धामिलाई नियन्त्रणमा लिएको थियो । पटक–पटकको प्रयास पछि पनि गोरु तस्करी नियन्त्रणमा आउन नसकेपछि कपिलवस्तु प्रहरीले गोरु तस्करलाई मुद्धा चलाउन लागेको हो ।

कानूनी जटिलताले पक्राउ गर्दा समेत पटक पटक गोरु तस्कर तथा गाडी छाड्न बाध्य भएपछि प्रहरीले तस्करहरुलाई पशुपंक्षीलाई निर्दयी व्यवयहार अन्र्तगत मुद्धा चलाएको हो । प्रहरीले अवैध गोरु तस्करी निस्तेज पार्न हरसम्भव प्रयास गर्दा समेत नसकेपछि पशुपंक्षी यातना तथा अमानवीय व्यवहारको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ दफा २९० अन्र्तगत मुद्धा चलाउन थालेको हो ।

अवैध गोरु तस्कर पक्राउ गर्दा राजस्वले लिन नमान्ने, भन्सारले लिन नमान्ने, भाडाको गाडी छाड्नुपर्ने, गोरु धनी सर्कान नआउने लगायतका समस्याले गोरु तस्करी नियन्त्रण आउन नसकेपछि प्रहरी मुद्धा प्रक्रियामा जान थालेको हो ।

पक्राउ व्यक्तिहरु दोषी पाइए पशुपंक्षीलाई निर्दयी व्यवयहार अन्र्तगत ३ महिना सम्म कैद वा ५ हजार जरिवाना वा दुबै हुने सजाय हुन सक्छ । विगत ३ महिना यता कपिलवस्तुमा गोरुको अवैध कारोबार हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्