कर प्रशासनमा देशभरमै कपिलवस्तुको बर्चश्व, कार्यालय र प्रशासक दुबै अब्बल !


१ मंसिर २०८१, शनिबार १९:५२ मा प्रकाशित

कपिलवस्तु, मंसिर १ गते । करदाता सेवा कार्यालय तौलिहवा आर्थिक वर्ष २०८०/८१ को उत्कृष्ट कर कार्यालय घोषित भएको छ । आन्तरिक राजस्व बिभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा करदाता सेवा कार्यालय तौलिहवा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो ।

विभागका अनुसार यो सूचीको पहिलो स्थानमा तौलिहवा कपिलवस्तु रहन सफल भएको छ । कार्यालयले ९१.२७ अंक सहित ए प्लस ल्याएर नेपालकै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोस्रो स्थानमा करदाता सेवा कार्यालय दिक्तेल खोटाङ रहेको छ । तेस्रो स्थानमा भने करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जा रहेको विभागले जानकारी दिएको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् ।

यसैगरि, विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान गरेको हो । यस अवसरमा आन्तरिक राजस्व कार्यालय भद्रपुर, आन्तरिक कार्यालय वानेश्वर र आन्तरिक राजस्व कार्यालय इटहरी सम्मानित भएका छन् ।

यसैगरी तीन वर्षदेखि कर कार्यालयमा उत्कृष्ट कार्य गर्दै आएका १० कर्मचारीलाई सम्मान गरेको हो । विभाग र विभाग अन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरू मध्ये आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्य सम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कृत गरिएको छ । देशभरमै उत्कृष्ट करदाता कार्यालयको रुपमा पुरस्कृत भएपछि करदाता सेवा कार्यालय तौलिहवाका प्रमुख कर अधिकृत भीम प्रसाद सापकोटाले कार्यालयको सेवा प्रवाहलाई थप परिष्कृत र जनमैत्री बनाउदै लैजाने प्रतिक्रिया दिएका छन् ।

जस्मा, मध्यमस्तरीय कर कार्यालयका कर अधिकृत जीवनाथ ज्ञवाली, आन्तरिक राजस्व विभागका शाखा अधिकृत धर्मबहादुर रोकाय, आन्तरिक राजस्व विभागका शाखा अधिकृत सुवर्ण कोइराला, आन्तरिक राजस्व विभागका शाखा अधिकृत कुन्त माया गुरुङ, आन्तरिक राजस्व विभागका कम्प्युटर इन्जिनियर सञ्जय सिंह, आन्तरिक राजस्व कार्यालय हेटौडा कर अधिकृत प्रेमप्रसाद तिमिल्सिना, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका कर अधिकृत हेरम्वराज न्यौपाने, आन्तरिक राजस्व कार्यालय, भैरहवाका नायब सुब्बा गंगाकुमारी हरिजन, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीका रामप्रसाद रेग्मी, ठुला करदाता कार्यालयका नायब सुब्बा सञ्जय हाङ्खिङ रहेका छन् ।

यस बर्ष कर प्रशासनमा कपिलवस्तुको बर्चश्व देखिएको छ । करदाता सेवा कार्यालय तौलिहवा नेपाल प्रथम हुँदै गर्दा उत्कृष्ट १० जना कर्मचारी भित्र आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख हेरम्वराज न्यौपाने उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् ।

यस्तै, यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

विभागका अनुसार, एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ।

प्रतिक्रिया दिनुहोस्