बाणगंगा, मंसिर ७ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, बुङ्चीमा ‘घरघरमा करेसाबारी, खाने आफ्नै तरकारी’ कार्यक्रम शुभारम्भ गरिएको छ। विद्यालय परिसरमै तयार गरिएको करेसाबारीमा तरकारीका विरुवा रोपेर बिहीबार कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ‘ईश्वर’ले जानकारी दिएका छन्।
करेसाबारीमा टमाटर, मुला, गोभी, लसुन, आलु, र धनिया जस्ता तरकारीका बिउ रोपिएको छ। प्रधानाध्यापक थापाका अनुसार करेसाबारीमा उत्पादित तरकारी बिक्रीबाट आर्जित रकम विद्यालयको बाल क्लब सञ्चालनमा खर्च गरिने योजना छ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष सन्जु कुमार सारुले विद्यार्थीलाई करेसाबारी सम्बन्धी ज्ञान र सीप प्रदान गर्दै घरमै अर्गानिक तरकारी उत्पादन गर्न प्रेरित गर्ने यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । विषादीरहित तरकारीको उपभोगलाई प्रोत्साहन गर्दै उनले शिक्षा र स्वास्थ्य सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि विज्ञ पदम घिमिरेले नगरपालिकाले प्राविधिक सहयोगको प्रतिबद्धता जनाउँदै रासायनिक मलको प्रयोग घटाएर जैविक मललाई प्रोत्साहन गर्ने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न तरकारी र बिउ उत्पादनलाई प्राथमिकता दिइने बताए । उनले विषादीयुक्त तरकारीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै विषादीमुक्त बाणगंगा निर्माणको अभियानलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका क्रममा वडाध्यक्ष सन्जु कुमार सारुले व्यक्तिगत लगानीमा १० वटा हजारी खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेका थिए । विद्यालयका सहायक प्रअ अजित शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।