बुद्धभूमि नगरपालिकाद्वारा मनकामना गुरुकुललाई सहयोग


पालिका पत्र

१२ मंसिर २०८१, बुधबार २१:१७ मा प्रकाशित

बाणगंगा, १२ मंसिर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २, नन्दनगरस्थित मनकामना संस्कृत गुरुकुललाई बिहीबार ९० थान कम्बल र ८० जोर चप्पल प्रदान गरिएको छ। नगरप्रमुख केशव कुमार श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा नगरपालिकाले गुरुकुलको विकास र व्यवस्थापनमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


नगरप्रमुख श्रेष्ठले गुरुकुललाई लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित संस्थाका रूपमा विकास गर्न आवश्यक पहल लिन नगर तयार रहेको बताए । साथै, समाजका सबै निकायले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत, वडा नं. २ का सुरज प्रताप राणा, वडा नं. ९ का प्रमोद आचार्य, गैडे सामुदायिक वनका सचिव सिता बेल्बासे लगायतले गुरुकुलले नेपाली भाषा, संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा व्यक्त गरे ।


मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजका अध्यक्ष रवि ज्ञवालीले नगरपालिकाको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। सो कार्यक्रममा प्रर्वधन समाजका कमल पौडेल र जगतराज रेग्मी लगायतको उपस्थिति थियो ।


यसैबीच, नगरप्रमुख श्रेष्ठले गुरुकुलका संरक्षक १००८ स्वामी लोकानन्द महाराजसँग गुरुकुलको विकासबारे छलफल गरेका छन् । प्रवक्ता तिलक बस्नेतका अनुसार, यस वर्ष भौतिक विकासका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ भने हिउँदे अधिवेशनबाट बटुकहरूको व्यवस्थापन र खाजा खर्चका लागि थप २ लाख रुपैयाँ बजेट विनियोजन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्