१५ औं कपिलवस्तु महोत्सवमा महिला कबड्डी प्रतियोगिता हुने


पालिका पत्र

१४ मंसिर २०८१, शुक्रबार ०८:४९ मा प्रकाशित


बाणगंगा, १४ मंसिर । कपिलवस्तुको जितपुरमा आयोजना हुने १५ औं कपिलवस्तु महोत्सवमा नयाँ खेलकुद कार्यक्रमहरू थप गरिएका छन्। बालुवामा साइक्लिङ च्यालेञ्ज पहिलोपटक आयोजना गरिनुका साथै प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता पनि हुन लागेको हो। कबड्डी खेल बुद्ध रंगशालाको एक भागमा तीन दिनसम्म सञ्चालन हुनेछ।

कपिलवस्तु उद्योग वाणिज्य संघका युवा तथा खेलकुद संयोजक पंकज पाण्डेका अनुसार कबड्डी प्रतियोगिताको मिति र पुरस्कारबारे आजै टुंगो लाग्नेछ। कपिलवस्तुसहित प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ, रोल्पा, बाँके, र बर्दियाका महिला टोलीहरूबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। कपिलवस्तुबाट पनि एउटा टिम सहभागी हुने पाण्डेले जानकारी दिए।

गत वर्ष महोत्सवमा रेस्लिङ र त्यसअघि कुस्तीको आयोजना भए पनि यसपटक कबड्डीको प्राथमिकता राखिएको छ। संघका अध्यक्ष र महोत्सव मूल समारोह संयोजक गणेश बहादुर क्षेत्रीका अनुसार कबड्डी खेलप्रति रुचि बढेकोले नयाँपन दिन यो निर्णय गरिएको हो।

यस्तै बालुवामा साइक्लिङ च्यालेञ्ज बाणगंगा राइडर्स क्लबले आयोजना गर्नेछ। महिला भलिबल प्रतियोगिताको तयारी पनि तीव्र पारिएको छ। बाणगंगा नगरपालिकाका विद्यालयहरूलाई केन्द्रमा राखेर महिला भलिबल खेल हुने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्