१५ औं कपिलवस्तु महोत्सवः पशुपतिनाथको मन्दिर झल्काउने गेट र डान्स आइडलका साथ नयाँ विशेषता थपिने


पालिका पत्र

१५ मंसिर २०८१, शनिबार १९:३९ मा प्रकाशित

रबिना कडेल, १५ मंसिर । १५ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ। शनिवार संघको हलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका अध्यक्ष गणेश बहादुर क्षेत्रीले महोत्सवको तयारी ८० प्रतिशत पूरा भएको जानकारी दिनुभयो।

कपिलवस्तु उद्योग वाणिज्य संघले ”सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मुल नारा अन्तर्गत आयोजना गरेको महोत्सव मंसिर १९ देखि २ गते सम्म बुद्ध रंगशालामा आयोजना हुनेछ।

महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको छ। यसपटक ५० वटा स्टल निर्माण सम्पन्न भइसकेका छन् भने विशिष्टिकृत स्टलहरूको निर्माण प्रक्रिया जारी छ। महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको पनि संघले जनाएको छ।

कृषि प्रवर्द्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनीको आयोजना गरिनेछ र सम्बन्धित सबैलाई सोमा सहभागी हुन अनुरोध गरिएको छ। लुम्बिनी विकास कोषलाई बुद्धसँग सम्बन्धित कार्यक्रमहरूलाई अगाडि बढाउनको लागि समेत अनुरोध गरिएको जानकारी दिइएको छ।

यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक हुनेछ। आयोजकले कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला(संस्कृतिको प्रवर्द्धनमा विशेष ध्यान दिएको जनाएको छ। यस वर्ष महोत्सवको गेटको डिज़ाइन पशुपतिनाथको मन्दिरको झल्को दिने गरी निर्माण गरिनेछ, जुन गेट निर्माण समिति संयोजक इन्द्र पोख्रेलले जानकारी दिएका छन्।

महोत्सवको उद्घाटन नागरिक उड्ययन र पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, महोत्सवको दौरान महानायक राजेश हमालले कपडा बैंकको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको छ, आयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

पत्रकार सम्मेलन कार्यक्रममा आयोजक मूल समारोह समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको प्रमुख आतिथ्यतामा, मेलाका निर्देशक हुमनाथ पौडेल, संघका पूर्व सल्लाहकार र वाणगंगा ५ का वडाध्यक्ष दुनिका भुषाल लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्