कपिलवस्तु, ०३ पौष । कला, संस्कृति, व्यापार, पर्यटन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही को आयोजनामा बुटवलमा औद्योगिक व्यापार मेला आज देखी आयोजना हुँदैछ। बुटवल मण्डपमा हुने यस भव्य मेलाले स्थानीय उत्पादनको प्रदर्शनसँगै मनोरञ्जनका विविध कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।
मेलाको मुख्य आकर्षण ऐतिहासिक जितगढी किल्ला कलात्मक मञ्च हुनेछ, जसले स्थानीय इतिहास र कला झल्काउनेछ। साथै, मेलामा सहभागीहरूले आधुनिक आकर्षणका रूपमा ब्यूटी फेयर टनेल एक्वेरियमको अवलोकन गर्न पाउनेछन् ।
स्वदेशी घरेलु हस्तकलाका उत्पादनहरूको प्रदर्शनले मेलालाई व्यापारिक अवसरसँगै सांस्कृतिक पहिचान दिने संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए । यसका साथै, मेलामा ऐतिहासिक तथा पुरातात्त्विक पर्यटकीय स्थलहरूको प्रदर्शनीसमेत गरिने उनले बताए ।
१६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागी हुने छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको पनि उनले जानकारी गराए । मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्, जसले दर्शकहरूको मनोरञ्जनमा थप रौनक ल्याउनेछ । विभिन्न वस्तु तथा टिकटक प्रतियोगिताले युवाहरूलाई आकर्षणको केन्द्र बनाउनेछ ।
बुटवल उद्योग वाणिज्य संघका अनुसार मेलाको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटनको विकास र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउनु हो। साथै, मेलाले स्थानीय व्यापारीहरूलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने प्लेटफर्म उपलब्ध गराउनेछ ।
यस मेलामा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं संरक्षकका रूपमा रहेका छन् । मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
संस्कृति, व्यापार र मनोरञ्जनको संगम हुने यस मेलाले बुटवलको आर्थिक र सामाजिक विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई मेलामा सहभागी भई स्वदेशी उत्पादनलाई समर्थन गर्न अपिल गरेका छन् ।