अर्खाखाँची, पौष ०६ । अर्घाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालहरू दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन्। भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको अस्पताल केन्द्र सरकारको १२ करोड लागतमा बने पनि सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावका कारण अलपत्र परेको छ। नगरपालिकाका प्रमुख झविलाल थापाका अनुसार, संघीय सरकारको सहयोगमा भवन त निर्माण भयो, तर स्थानीय तहले मापदण्डअनुसारका सेवा दिन नसक्दा समस्या भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १०, र १५ शय्याका अस्पतालका लागि मापदण्ड तोकेको छ। १५ शय्याको अस्पताल सञ्चालन गर्न ३० जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी छ, जसमा नवौं वा दशौं तहका विशेषज्ञ डाक्टर, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर लगायतका प्राविधिक जनशक्ति आवश्यक पर्ने उल्लेख गरिएको छ। तर, वार्षिक ५० लाखको आयस्रोत रहेको नगरपालिकाले मात्र यो खर्च थेग्न नसक्ने भन्दै नगर प्रमुखले प्रदेश र संघीय सरकारको सहयोग अपरिहार्य भएको बताउनुभएको छ।
मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईका अनुसार, स्थानीय तहले मापदण्डअनुसारको जनशक्ति व्यवस्थापन गर्न असमर्थ रहेकोले, केन्द्र र प्रदेश सरकारको पहल आवश्यक छ। चार स्थानीय तहमा बनेका भवनहरू आकर्षक र सुविधासम्पन्न छन्, तर पाले राखेर संरक्षित मात्र गरिएको छ। सञ्चालनबारे सबै तहको एउटै धारणा छ– “स्थानीय तहले मात्रै सक्दैन।”