कपिलवस्तु–रुपन्देही जोड्ने पुल सञ्चालनमा, स्थानीयलाई सहज यात्रा


पालिका पत्र

१८ माघ २०८१, शुक्रबार २०:३५ मा प्रकाशित

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका-१, पतेरियामा भुताह खोलामाथि २ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न पुलको भव्य उद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुलको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री अधिकारीले पुल निर्माणपछि कपिलवस्तुको दक्षिणी क्षेत्र तथा रुपन्देहीको कन्चन र गैडहवा क्षेत्रका नागरिकलाई सहज आवागमनको सुविधा पुगेको बताए। उनले २०७० सालमा संविधान सभा सदस्य भएकै बेला आफ्नो पहलमा बनाएको सडकमा अब पुल निर्माण गरी उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

समारोहमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री भूमिश्वर ढकालले संघीय सरकारको बजेटबाट पुल निर्माण सम्पन्न भए पनि आगामी दिनमा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, प्रदेश सांसद गिर्धारीलाल न्यौपाने, एमाले नेता अब्दुल मोजिब खान, वडा नं. १ का वडा अध्यक्ष तिहार खान, नेता ताइब खान तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेको उपस्थिति थियो। २३.६० मिटर लम्बाइको यो पुल स्थानीय बासिन्दाका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्