२ सय ४९ जना चालक तथा सहचालकको स्वास्थ्य जाँच


पालिका पत्र

१८ माघ २०८१, शुक्रबार २०:४३ मा प्रकाशित

रुपन्देही, १८ माघ । नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सवारी दुर्घटना न्युनिकरणको लक्ष्यसहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शुक्रवार बिहान ९ः ०० देखि दिउँसो ३ः ०० बजेसम्म बुटवल उपमहानगरपालिका , नयाँ बसपार्कस्थित स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेशभर सञ्चालन हुने सार्वजनिक सवारीका २ सय ४९ जना चालक तथा सहचालकहरूले विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराएका छन् ।

स्वास्थ्य शिविरमा विशेष रूपमा रक्तचाप, मधुमेह, हृदयसम्बन्धी परीक्षण, आँखा परीक्षण तथा अन्य आवश्यक स्वास्थ्य परीक्षणहरू गरिएका थिए । यस शिविरको उद्देश्य सवारी चालकहरूको स्वास्थ्य सुधार गर्दै दुर्घटनाको जोखिम न्यूनिकरण गर्नु रहेको आयोजक नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस किसिमका स्वास्थ्य शिविरले सार्वजनिक यातायात क्षेत्रका चालकहरूको स्वास्थ्य सचेतना बढाउने तथा सुरक्षित यात्रा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिने छ।

प्रतिक्रिया दिनुहोस्