कपिलवस्तुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदै


२४ माघ २०८१, बिहीबार १०:०८ मा प्रकाशित

माघ २४ गते । प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । जिल्ला क्रिकेट संघ कपिलवस्तुले नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक खेल तालिका अनुसार प्रतियोगिता गर्न लागेको हो ।

सदरमुकाम तौलिहवास्थित बुद्धपद्म माध्यमिक बिद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता माघ २७ गतेसम्म चल्नेछ ।
छनोट प्रतियोगितामा कपिलवस्तुमा रहेका उत्कृष्ट ६५ जना खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् । छनोट प्रतियोगिता २५/२५ ओभरको हुने भएको क्रिकेट संघ कपिलवस्तुका कोषाध्यक्ष पदमराज श्रेष्ठले जानकारी दिए ।

६५ खेलाडीहरु मध्येबाट टिम बिभाजन गरेर लिग खेल खेलाइने आयोजकले जनाएको छ । सहभागी खेलाडीहरूलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा चार टिमले तीन/तीन खेल एकापसमा खेल्नेछन् । खेलमा ब्यक्तिगत प्रर्दशनका आधारमा जिल्लाको टिम निर्माण गरिने अभ्यास रहेको श्रेष्ठले जनाए ।

जिल्लागत छनौट भएको टिमहरुबीच जिल्ला स्तरीय खेल भने फागुन ३ गते भैरहवामा खेल प्रतियोगिता हुनेछ । प्रदेशका ७ जिल्लाका खेलाडीबीच खेल सम्पन्न गरि प्रर्दशनकै आधारमा लुम्बिनी प्रदेश स्तरीय खेल टिम निर्माण हुने बताइएको छ ।

जिल्ला क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले नेपाल राष्ट्रिय क्रिकेट टोलीको भविष्य निर्माणका लागि यस्तो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ ।

क्यानले प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्