
कपिलवस्तु, ३० माघ ।
कपिलवस्तु जिल्लामा तीन दिनसम्म लगातार गरिएको बजार अनुगमनका क्रममा शुद्धोधन, कृष्णनगर, शिवराज, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा कूल रु. १ लाख ९० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिएपछि यस्तो जरिवाना गरिएको हो ।
बुधबार तौलिहवामा गरिएको ६ मिठाई पसलको अनुगमनका क्रममा कैफियत भेटिएका तिन मिठाई पसललाई ६० हजार जरिवाना गरिएको बताएको छ । बहादुरगञ्जको पुजा मिष्ठान्न भण्डार तथा चन्द्रौटाको गौरव स्विटर हाउस र एक किराना पसललाई दश ,दश हजार जरिवाना तोकिएको र शुद्धोधन गाउँपालिकामा रहेको पनोरमा बेकरी उद्योग लाई ५० हजार र रिलायन्स पानीको लाई ५० हजार जरिवाना गरिएको बताएको छ ।
अनुगमन गर्दा विगतको निर्देशन पालना नगरेको भेटिएका कारण दुवै उद्योगलाई जरिवाना गरिएको बताएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरे, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज रोकाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सरोज खनाल, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका उद्योग विकास सहजकर्ता विनय सैनी सहितको टोलीले बजार क्षेत्रका मिठाई पसलको आकस्मिक बजार अनुगमन गरेको बताएको छ ।
सो क्रममा पहिलो पटकमा दिएको निर्देशन उल्लङ्घन गरेका तिन मिठाई पसल मध्य दुई पसललाई २५÷२५ हजार र एक मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सरोज खनालले बताएका छन् । अनुगमनका क्रममा गुणस्तरहीन भेटिएको तेल, पकौडा, समोसा लगायतको सामाग्री समेत नष्ट गरिएको छ । व्यापारीले अखाद्य वस्तु मिसाइएको मिठाईहरू बिक्री गर्दै आएको जनगुनासोका आधारमा आकस्मिक बजार अनुगमन गरेको बताएको छ ।
मङ्गलबार पनि टोलीले शुद्धोधन गाउँपालिकामा रहेको पनोरमा बेकरी उद्योग र रिलायन्स पानीको अनुगमन गर्दा विगतको निर्देशन पालना नगरेको भेटिएका कारण दुवै उद्योगलाई १ लाख जरिवाना लगाएको बताएको छ । बजारमा अखाद्य वस्तु नियन्त्रणको उद्देश्यले नियमित बजार अनुगमन गर्न शुरु गरिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरेले बताएका छन् । पहिलो पटक भविष्यमा गल्ति नगर्न सम्झाई बुझाई निर्देशन दिदा पनि निर्देशन पालना नगरेको ले कारवाही स्वरुप जरिवाना गराइएको बताएको छ ।
यस अघि बहादुरगञ्ज, चन्द्रौटा, गोरुसिङ्गेमा बजार अनुगमन गरिएको बताउँदै अब चाड पर्व लक्षित मात्रै नभई आकस्मिक र निरन्तर बजार अनुगमन गरिने उनले जानकारी दिए । अनुगमनका क्रममा मिठाई पसलहरूले पत्रिकामा मिठाई बेचेको, अत्याधिक रङ्गको प्रयोग गर्नुका साथै पसलमा अत्याधिक फोहर भेटिएको र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको घिमिरेले बताएका छन् । साथै किचनको व्यवस्थापन र सरसफाइ गर्न, पसल दर्ता गर्न १५ दिनको अल्टिमेटम दिइएको छ । किराना पसलहरूबाट म्याद गुज्रेका खाद्यसामग्री पनि नष्ट गरिएको बताएको छ ।
यस्तै, बुद्धभूमि नगरपालिका अन्तर्गत गोरुसिङ्गे स्थित अर्घाखाँची चोकका ठेलापसलहरू अव्यवस्थित अवस्थामा रहेको पाइएपछि ती व्यवसायीहरूलाई १५ दिनभित्र ठेलामा फाइबरको सिसा लगाएर व्यवस्थित गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र सुधार नगरे ठेलाहरू जफत गरिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले चेतावनी दिएका छन् ।
अघिल्लो दिनहरूमा मुख्यत: चाडपर्व केन्द्रित मात्र हुने गरेको बजार अनुगमन अब नियमित रूपमा तथा आकस्मिक रूपमा समेत गरिने प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरे जिल्ला आएका लगत्तै अनुगमनलाई तीव्रता दिइएको र प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरू छिटोछरितो पारिएको जिल्लावासीहरूले बताएका छन् ।