लुम्बिनीमा प्रहरीको मूख्य ‘टार्गेट’ : यसरी समातिए हजार बढि फरार अपराधी


पालिका पत्र

१० फाल्गुन २०८१, शनिबार १२:१८ मा प्रकाशित

फागुन १० गते । लागू औषध मुद्धामा विगत २ बर्ष देखि फरार २ अभियुक्त कपिलवस्तु प्रहरी समक्ष आत्म सर्मपण गरे । माघ दोश्रो साता उनीहरु आफै उपस्थित भई कैद भुक्तानका लागि कारागार चलान भए ।

उनीहरु जस्ता १३ जना फरार अपराधीहरु दुई महिना भित्र प्रहरी समक्ष स्वयं उपस्थित भएको कपिलवस्तु प्रहरीले जनाएको छ । बर्षौ देखि लुकेर बसेको फरार अपराधी धमाधम पक्राउ गर्न थालेपनि उनीहरु स्वयं प्रहरी समक्ष हाजिर भएको बताएका थिए । डिएसपी मोहनमणि अधिकारीका अनुसार पुस र माघमा मात्र कपिलवस्तुबाट ८९ जना फरार अपराधी पक्राउ गरि कैद भुक्तानका लागि पठाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कडा निर्देशन लगत्तै कपिलवस्तु लगायत प्रदेशका १२ वटै जिल्लामा फरार अपराधी धरपडक अभियान नै संचालन भएको थियो । पुस पहिलो साता प्रदेशको कमाण्ड सम्हाल्न आएका डिआइजी दान बहादुर कार्कीको पहिलो तथा मुख्य निर्देशन नै फरार अपराधी पक्राउ गर्नु भएको प्रहरी अधिकारीहरु बताउछन् ।

विभिन्न घटना घटाई खुलेआम समाजमै मिसिएर बसेका १२ सय अपराधीबाट नै शान्ति सुरक्षामा खतरा रहेको भन्दै कार्कीले मुख्य टार्गेट नै गरेर फरार अपराधी पक्राउ अभियान चलाएका थिए ।

लगत्तै प्रदेशका १२ वटै जिल्लाका प्रहरीहरु फरार अपराधीहरु समात्ने प्रतिस्प्रधामा देखिएका छन् । पुस र माघ महिनामा मात्रै १२ वटै जिल्लामा विभिन्न घटना संग जोडिएर फरार रहदै आएका १ हजार ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुनमा समेत यो अभियानलाई निकै तिब्रता दिएको पाइन्छ । शान्ति सुरक्षको हिसाबले संवेदनशील मानिने लुम्बिनी प्रदेशमा सम्भावित अपराधिक घटना न्यूनिकरण गर्न उक्त अभियान चलाइएको डिआइजी कार्कीले बताए । “अपराधीहरुको मनोबल बढेको थियो त्यसैले कानूनी शासन कायम गर्न आवश्यक थियो, सबैको सहयोगले नियन्त्रणमा आउदैछ” उनले भने ।

समाजमा मिसिएर बसेका १ हजार बढि अभियुक्त नियन्त्रण संगै अपराधमा समेत कमी आएको र पुराना मुद्धाहरु समेत फर्र्छौट हुदै गएको डिआजी कार्कीको दाबी छ ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार पुस महिनामा ४६९ जना फरार अपराधी पक्राउ गरिएको थियो भने माघमा ५६३ जना पक्राउ परेका छन् ।

सबै भन्दा बढि बाँके, रुपन्देही र दाङबाट फरार अपराधीहरु नियन्त्रणमा लिइएको छ । सबैभन्दा बढि बैंकिङ कसुर, ठगी, बलात्कार, हत्या, लागू औषध कारोबारी, कुटपिट तथा बन सम्बन्धी फरार अभियुक्तहरु रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अझै फरार सूचीमा रहेका २८४ जनाको खोजी समेत तिब्र बनाएको छ । विभिन्न अपराधमा संलग्न तथा गम्भीर घटना घटाएका व्यक्तिहरु खुलेआम समाजमै घुम्दा सुरक्षा चुनौती बढ्ने र त्यसले अर्को अपराध जन्माउन सक्ने भएकाले उनीहरुलाई पक्राउ गर्नु आफुहरुको मुख्य प्राथमिकता रहेको डिआइजी कार्की बताउछन् ।

प्रतिक्रिया दिनुहोस्