शिवराजमा शिक्षा ऐनको प्रभाव: ४० अध्यक्ष एकैपटक पदमुक्त


पालिका पत्र

२२ बैशाख २०८३, मंगलवार २०:४१ मा प्रकाशित

कपिलवस्तु ।
शिवराज नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समितिमा व्यापक हेरफेर गरिएको छ। हालै संशोधित शिक्षा ऐन कार्यान्वयनमा आएसँगै मनोनीत अध्यक्षहरूको पद स्वतः खारेज भएपछि करिब ४० जना अध्यक्ष पदमुक्त भएका छन्।

नगरपालिकाको शिक्षा शाखा प्रमुख पुर्ण विश्वकर्माका अनुसार पुरानो व्यवस्था अन्तर्गत राजनीतिक दल वा सामाजिक सिफारिसका आधारमा नियुक्त गरिएका अध्यक्षहरू नयाँ कानुनी प्रावधान लागू भएसँगै निष्क्रिय भएका हुन्। यससँगै विद्यालय व्यवस्थापन समितिहरूलाई नयाँ संरचनाअनुसार पुनर्गठन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

पदमुक्त हुनेहरूमा राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष जगत पौडेल, नेपाल आदर्श मावि (शिवराज–१०) का अध्यक्ष नरेन्द्रमान केसी, त्रिभुवन आदर्श माविका अध्यक्ष कुनाल प्रताप शाह, समयथान माविका अध्यक्ष गोबिन्द बहादुर विश्वकर्मा तथा सरस्वती आधारभूत विद्यालयका अध्यक्ष जगत बहादुर जिसी लगायत रहेका छन्।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार शिक्षा ऐन संशोधनले मनोनीत सदस्यहरूको पद स्वतः समाप्त हुने व्यवस्था लागू गरेपछि यो निर्णय लिइएको हो। अब सबै विद्यालयमा नयाँ ढाँचामा व्यवस्थापन समिति गठन गरिने जनाइएको छ।

यद्यपि, केही विद्यालयमा भने अध्यक्षहरू यथावत् रहेका छन्। जनचेतना सामुदायिक विद्यालयका अध्यक्ष आनन्द कुमार शुक्ला र बालज्योति मावि, विसनपुरका अध्यक्ष मुलचन्द यादव पदमै कायम रहेका छन्।

शिवराज नगरपालिकाभित्र हाल सामुदायिक तथा धार्मिक गरी करिब ५५ वटा विद्यालय सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्