
बाणगंगा, १९ फागुन । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले युवाको समग्र विकासका लागि पालिकाले विभिन्न पहल गरिरहेको बताएका छन् । उनले युवालाई स्वरोजगार बनाउन हरेक वर्ष सिपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गरे।
बाणगंगा नगर युवा परिषदको आयोजनामा सिद्धार्थ क्याम्पसमा आयोजित ‘स्थानीय तहको समग्र विकासमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा नगरप्रमुख अर्यालले युवाहरूलाई आफ्नै भूमिमा अवसर खोज्न आग्रह गरे । उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने उक्तिलाई आत्मसात गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।
विदेश पलायनको विषयलाई गम्भीर चिन्ताको रूपमा व्याख्या गर्दै उनले संघीय सरकारबाट ठोस नीति आवश्यक रहेको बताए । स्थानीय तहबाट सीमित स्रोत साधनका कारण युवालाई स्वदेशमै रोक्न चुनौती रहेको उनले स्वीकारे । पालिकाले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्दै लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा विशेष चासो दिएको उल्लेख गरे ।
नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले युवाहरूलाई समाजप्रति उत्तरदायी हुन आग्रह गरिन् । उनले अनुशासन र राष्ट्रप्रतिको निष्ठा युवाको प्रमुख विशेषता हुनुपर्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, सिद्धार्थ क्याम्पस प्रमुख वेदराम भुसाल, जिल्ला युवा परिषदका अध्यक्ष टुकलाल गैरे, स्ववियु सभापति निलकमल थारु, युवा परिषदका उपाध्यक्ष मधुसुदन भुसाललगायतका वक्ताहरूले युवालाई प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण अर्चना आचार्यले गरेकी थिइन् ।