
कपिलवस्तुको बुद्धरंगशालामा जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र एफसी र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार दिउँसो २:३० बजे फाइनल खेल सुरु हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन् ।
सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र एफसीले जोङ्ग्री एफसी सिक्किमलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यस्तै, पहिलो सेमिफाइनलमा थ्रीस्टारले संकटा एफसीलाई १-० गोल अन्तरले हराउँदै उपाधि भिडन्त सुनिश्चित गरेको थियो ।
अध्यक्ष थापाका अनुसार फाइनल खेल अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार १११ रुपैयाँ नगद, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको यो प्रतिष्ठित प्रतियोगिता जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा सञ्चालन भइरहेको छ ।