कपिलवस्तु पुगेर कुलमान घिसिङ्गले दिए सरकारलाई धन्यवाद


२१ फाल्गुन २०८१, बुधबार १६:५१ मा प्रकाशित

फागुन २१ गते । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सरकार र गृहमन्त्रालयलाई धन्यवाद ब्यक्त गरेका छन् । नेपाल बिद्युत प्रधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुले बुधबार राखेको मोतिपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ भवनको समुद्घाटन समारोह तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उनले सरकार र गृहमन्त्रालयलाई धन्यवाद ब्यक्त गरेका हुन् ।

लामो अवरोधपछि मोतिपुर–तौलिहवा ३३ केभि डबल सर्किट लाइन निर्माण कार्य सम्पन्न हुनुमा सरकार र गृहमन्त्रालयका मातहतका निकायको भूमिका अहम् र प्रशंसनीय रहेको भन्दै उनले धन्यवाद प्रकट गरेका हुन् । सदरमुकाम तौलिहवा लगायत कपिलवस्तुका दक्षिणतर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत उपलब्ध हुने उनले बिश्वास ब्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई पूर्ण विद्युतीकरण गर्ने कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले बताए । यस जिल्लाका स्थानीय तहहरूको कुनै स्थानको गाउँ वा टोलमा विद्युतको पहुँच नपुगी बत्ती नबलेको स्थिति भए सम्बन्धित वितरण केन्द्रहरू वा प्रादेशिक कार्यालयमा जानकारी गराउन समेत उनले आग्रह गरेका छन् ।

बिद्युत प्रशारण लाइनमा स्थानीय जनताले सहयोगी भूमिका निर्वाह गर्नु अत्यन्तै आवश्यक रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुको अनुभव बाँड्दै अर्यालले बिकास निर्माण र हितका लागि बल प्रयोग गर्नु/हुनुलाई सकारात्मक रुपमा ग्रहण गर्न सबैलाई आग्रह समेत गरे ।

बिद्युत प्रशारण लाइनमा सुरक्षा निकायको भूमिका निकै उल्लेख्य रहने हुँदा चुहावट नियन्त्रण र राजश्व संकलनमा समेत अभिवृद्धि हुने वितरण केन्द्र तौलिहवाका प्रमुख गौरव पाण्डेले बताए । सदरमुकाम क्षेत्रको बिद्युत समस्याका रुपमा रहेको लो भोल्टेज लगायतका समस्याहरु क्रमशः समाधान हुँदै जाने उनले उल्लेख गरे । सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा बिश्वस्त रहन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नवनिर्मित भवनको समेत समुद्घाटन गरिएको छ । बिद्युत प्रशारण लाइनको संचालनमा अतुलनीय सहयोग र साथ दिएको भन्दै कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी. लगायतलाई प्रमाणपत्र सहित सम्मान गरेका छन् ।

कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्विनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, बिभिन्न बितरण तथा ग्रीडका प्रमुखहरु, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, किरणमान बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।

थप तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्