
फागुन २२ गते । कपिलवस्तुका तीन वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक जिल्लाका तीन स्थानीय तहका हाकिमहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
जिल्लाको महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको बुधबार अवेरको निर्णय अनुसार मन्त्रालयले सरुवा गरेको छ । महाराजगंजका रविन्द्र प्रसाद चौधरी, शिवराजका बाबुराम पौडेल र बुद्धभूमिका चुरामणी पन्थीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
निर्णयानुसार महाराजगंजमा दिपेन्द्र रेग्मी, शिवराज नगरपालिकामा विपिन क्षेत्री, र बुद्धभूमि नगरपालिकामा बासुदेव भट्टराई प्रमुख प्रशासकीय अधिृकतको रुपमा आउँदै हुनुहुन्छ ।
बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पन्थीको सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।
शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै, महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी टिकापुर नगरपालिका कैलाली सरुवा भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ । बुधबारको निर्णयअनुसार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।
त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।