
चैत्र ३ गते । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्व र सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दिशामा ऐतिहासिक पहल भएको छ। अमेरिकाको टेक्सास राज्य सभाले मार्च १३ लाई “लुम्बिनी दिवस” को रूपमा मनाउने घोषणा गरेको छ । टेक्सासको राजधानी अस्टिनमा टेक्सासको सभाले मार्च १३ लाई लुम्बिनी दिवसको रुपमा मनाउने घोषणा गरेको टेक्सासबाट कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।
नेपालबाट बुद्ध परिपथका विभिन्न नगरपालिकाहरूका प्रतिनिधिमण्डल हाल अमेरिकाको भ्रमणमा रहेको बेला सोही अवसरमा टेक्सासको राजधानी अस्टिनमा एक विशेष समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलका साथै अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका, बुद्धले २९ वर्ष विताएको प्राचिन कपिलवस्तु, बुद्धको मावली स्थल देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम र तिलोत्तमा नगरपालिकाका प्रमुखहरू सहितको प्रतिनिधिमण्डलले “लुम्बिनी दिवस” घोषणा गरिएको समारोहमा सहभागिता जनाएका थिए।
बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, रामग्राम नगरपालिकाबाट नगर प्रमुख धनपत यादव, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव राम प्रसाद ज्ञवाली, बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने सहभागी रहेका छन् ।
हाल अमेरिकामा बुद्ध परिपथ अन्तर्गतका पालिकाहरुको प्रतिनिधित्व गरि नेपालबाट भ्रमणमा रहेका प्रतिनिधि मण्डलको मार्च १३ मा समन्वय बैठक समेत सम्पन्न भएको छ। समन्वय बैठकमा बुद्ध परिपथका नगरपालिकाहरू र अमेरिकास्थित नेपाली समुदाय बीच पर्यटन प्रवर्द्धन, नेपाली धर्म-संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा र विहार मार्फत लुम्बिनीको प्रचार-प्रसारमा सहयोग गर्ने निर्णय भएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।
“अमेरिकी नागरिकहरूलाई नेपालको बुद्धभूमि र बुद्ध परिपथका नगरपालिकाहरूको भ्रमणका लागि विशेष निमन्त्रणा गरिएको छ। यसले निश्चित रूपमा नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” पौडेलले भने । लुम्बिनी साँस्कृतिक नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालले मार्च १३ अब नेपाल र नेपालीका लागि गर्वको दिन हुने बताए । “यो घोषणाले समग्र लुम्बिनी क्षेत्रसँग सम्बन्धित सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रचार-प्रसारमा कोशेढुंगा साबित हुनेछ,” उनले भने ।
यति महत्वपूर्ण उपलब्धी हाँसिल गर्न गराउन लुम्बिनी बुद्ध परिपथका पालिकाहरुको निरन्तरको समन्वय, सहकार्य र पहलबाट सम्भव भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने बताए । नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवालीले समग्र लुम्बिनी र लुम्बिनी परिपथको पर्यटन सम्भावनालाई यस दिनले थप उजागर गर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नेपालका अन्य पर्यटकिय स्थलको थप प्रवर्धन गर्न यस्ता कदमहरु महत्वपूर्ण हुने बताए ।
समन्वय बैठकमा युएसए टेक्सास एवं ग्रेटर अस्टिन नेपाली समुदाय आध्यात्मिक केन्द्र अस्टिन संयुक्त राज्य अमेरिकाको तर्फबाट लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा निरन्तर लागिरहनुभएका सामाजिक अभियन्ता एवम् प्राध्यापक डा. प्रभात दिक्षित, इन्द्रेणी सांस्कृतिक संघ इरभिङ टेक्सास, संयुक्त राज्य अमेरिकाका अध्यक्ष एवं पर्यटन विभाग प्रमुख गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, (एनआरएनए एनसीसी अमेरिका) का उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, (NEAJA USA)का अध्यक्ष सुरज भण्डारी, गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, (एनआरएनए एनसीसी अमेरिका)अध्यक्ष सविन्द्र थापा, ग्रेटर नेपाल अष्टिन सोसाईटीका अध्यक्ष बिदुर खतिवडा, राससका युएसए प्रतिनिधि शंकर थापा र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकमा विभिन्न विषयमा प्रस्ताव एवं छलफल भएको छ । जस अनुसार, बुद्ध परिपथ लुम्बिनी प्रदेश नेपालका पालिकाहरु कपिलवस्तु, लुम्बिनी सास्कृतिक, देवदह, रामग्राम र तिलोत्तमा र नेपालको पर्यटन प्रवर्द्धन, नेपाली धर्म सस्कृतिको सरक्षण तथा विकासका लागि अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा र विहार मार्फत लुम्बिनीको प्रचार प्रसारमा सहयोग र सहकार्य गर्ने निर्णय भएको भ्रमण टोलिका प्रतिनिधिले पालिकापत्रलाई जानकारी दिएका छन् ।









