बाणगंगा राइडर्स क्लबको पहिलो वार्षिकोत्सवः एकल महिलालाई खाद्यान्न वितरण


पालिका पत्र

२९ चैत्र २०८१, शनिबार १९:१० मा प्रकाशित

बाणगंगा, चैत्र ३० । बाणगंगा राइडर्स क्लब कपिलवस्तुले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै एकल महिलालाई लक्षित गरी गरेको हो । शनिबार बाणगंगा वडा नं. १ उत्तमनगर निवासी एकल महिला मनकला रनपाललाई खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष सञ्जु सारु, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँड लगायतको उपस्थिति रहेको थियो ।

‘स्वस्थ जीवन, स्वच्छ वातावरण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ स्थापना भएको क्लबले सामाजिक कार्यहरूमा पनि सक्रियता देखाउँदै आएको छ । क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार वार्षिकोत्सवको अवसरमा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी यो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय बासिन्दा र विभिन्न सामाजिक अगुवा व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको अन्त्यमा क्लबका सदस्यहरूले साइक्लिङ यात्रामार्फत वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्