
कपिलवस्तुको कृष्णनगर सीमामा पहिलोपटक तालिमप्राप्त कुकुर प्रयोग गरी चेकजाँच अभियान सञ्चालन गरिएको छ। भारतसँग सीमा जोडिएको मुख्य नाकामा प्रहरीले सरप्राइज चेकिङ अभियान सञ्चालन गर्दै विशेष कुकुर परिचालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार यो कदम सीमा क्षेत्रमा भइरहेका लागुऔषध ओसारपसार, तस्करी, सीमा अपराध तथा अन्तरदेशीय आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने उद्देश्यले चालिएको हो।
इलाका प्रहरी कार्यालय, कृष्णनगरले नगरपालिका–२ अन्तर्गत पर्ने लिंकगेट, यात्रु गेट, ट्रान्समिटर क्षेत्र र बसपार्कलगायतका व्यस्त स्थानहरूमा चेकिङ गरेको जनाएको छ। चेकजाँचका लागि भैरहवा विमानस्थलस्थित डग शाखाबाट ल्याइएका दुईवटा विशेष तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ।
‘ज्यानी एक्सप्लोसिभ’ नामक विस्फोटक पदार्थ पत्ता लगाउने कुकुर र ‘जुजु नारकोटिक्स’ नामक लागुऔषध सूँघ्नमा दक्ष कुकुर प्रयोग गरिएको प्रहरीले जनाएको छ। यी कुकुरहरूले यात्रु तथा सवारीसाधनहरूको सूक्ष्म जाँच गरेका थिए।
हाल सीमा नाकाबाट ब्राउन सुगरजस्ता लागुऔषध नेपाल भित्र्याउने र चरेस भारततर्फ लैजाने गतिविधि बढ्दो छ, जसले विशेषगरी युवाहरूलाई जोखिममा पारिरहेको छ। प्रहरीले कुकुर प्रयोगमार्फत यस्तो गैरकानुनी गतिविधि नियन्त्रणमा सघाउने विश्वास लिएको छ।
प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार अब यस्ता सरप्राइज चेकिङलाई नियमित बनाइनेछ। “एकै क्षेत्रमा महिनामा कम्तीमा दुईपटक कुकुर प्रयोग गरी चेकजाँच गरिनेछ, आवश्यक परेमा यसको संख्या थपिनेछ,” उनले बताए।