
कपिलवस्तु, बैशाख ३ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक महिनामा एक करोड ६ लाख २० हजार चारसय ७० रुपैया बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरि भन्सार कार्यालय चलान गरेको छ । खुला सिमाका कारण चोरी तस्करी पनि व्यापक हुने हुँदा न्यूनिकरण र नियन्त्रणमा लागेको कपिलवस्तु प्रहरीले अघिल्लो महिना चैत्रमा १ करोड ६ लाख २० हजार चारसय ७० रुपैयाको सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले भने ।
यस्तै कपिलवस्तु प्रहरीले चैत्र महिनामा मात्रै १२२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका १२२ फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट ५८ वर्ष तीन महिना २ दिन कैद र रु चार लाख ७ हजार ६८२ जरिवाना असुल उपर गरिएको उनले बताए । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय कपिलवस्तु प्रहरीले अभियानकै रुपमा कार्य अगाडि बढाएको छ ।
कार्यालयका अनुसार सजाय अवधि तोकिएको २० वर्ष पछि ६ जना, १५ वर्ष पछि २१ जना, १० वर्ष पछि १९ जना, ५ वर्ष पछि १५ जना र ५ वर्ष भन्दा कमको अवधिका ६१ जना गरि कुल १२२ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ ।
कपिलवस्तु प्रहरीले नियमित कामसगै पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा लागेको बताउदै कहिले कम कहिले बढि रुपमा फरार प्रतिवादीहरु पक्राउ गरिरहेका छौ, सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नुपनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको अधिकारीले भने ।
“फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौ,” जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको डिएसपी अधिकारीले भने ।
जिल्लामा प्रहरीले चैत्रमा दर्ता भएका दुईसय ७१ वटा मुद्दा दर्ता भई सो अवधिमा एकसय ६९ मुद्दा मिलापत्र गरिएको जनाएको छ । यस्तै, ५६ वटा मातहतका कार्यालयमा पठाइएको बताउँदै डिएसपी अधिकारीले भने, ४६ वटा पेन्डिङ रहेका मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् ।
चैत्र महिनामा घरेलु हिंसाको ४९ वटा उजुरी आएकोमा ४१ जनालाई सहमती गरि पठाइएको छ भने ८ वटा बाँकी रहेको छ ।प्रहरीले नियमित कामसँगै समुदायसँग साझेदारीको कार्यक्रम पनि व्यापक रुपमा गर्ने गरेको छ विभिन्न सचेतनामुलक कार्यक्रम जिल्लाभर ४६४ वटा गरेकोमा २० हजार ३३७ जना लाभान्वित भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय एवं मातहतको संयुक्त टोलीबाट गरिएको सवारीसाधान चेकिङ्गबाट २ हजार २ सय ३३ वटा सवारी साधन कारवाही गरि २१ लाख ५२ हजार राजश्व संकलन भएको छ ।
कार्यालयले लागु औषध सहित विभिन्न घटनाबाट ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ । मौसम परिवर्तन सँगै कपिलवस्तुमा आगालागीको घटना पनि बढेको छ । चैत्र महिनामा मात्रै १६ वटा आगलागी को घटना भएका छन भने एक करोड ४१ लाख ९४ हजारको क्षति र ३० वटा घर र १८ वटा गोठमा क्षति भएको छ ।
यस्तै जिल्लामा विभिन्न निवेदनको २ सय ७१ वटा ठाडो उजुरी परेकोमा अधिकांस गाली बेइज्जती र सामान्य झै झगडाको रहेको कार्यालयले जानकारी दिएको छ ।