
असोज ४ गते । युवाहरुको सक्रियतामा स्थापित अक्षत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९, कुस्मामा उक्त सहकारीले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक पौडेलले जिल्लामै उत्कृष्ट तवरमा अक्षत करेसाबारी बनाएर सदस्य लगायत स्थानीय समुदाय लक्षित सेवा प्रवाहमा उत्कृष्ट कार्य गरेको बताउनुभएको छ । शेयर सदस्यको विश्वासलाई आत्मसाथ गर्दै सहकारीलाई पारदर्शी रुपमा लगिएको समेत पौडेलले जानकारी दिनुभयो ।

सहकारीका सचिव शेखर शर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन र सहकारीको भावि कार्यक्रम तथा योजना समेत प्रस्तुत गर्नुभएको थियो । यस्तै, लेखा सुपरिवेक्षक संयोजक हरी प्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ मा सेयर सदस्य ११२ जना, सेयर पुँजी १७ लाख ६ हजार, बचत ४१ लाख ९७ हजार ४ सय ३९ रुपैया, लगानी ४० लाख ४८ हजार ५ सय ६८ रुपैयाँ रहेको बताउनुभयो ।

कर्जा उपसमितिका संयोजक पूर्ण प्रसाद शर्मा पौडेलले कर्जा उपसमितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने दिवाराज शर्माले संस्थाको पृष्ठभूमि, सुझाव तथा मार्गनिर्देशन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीले हाल जिल्लाका तीन पालिकामा आफ्नो कार्यक्षेत्र सहित अघि बढिएको ब्यवस्थापक माया भुसाल जिसीले बताउनु भएको छ । कपिलवस्तु, बाणगंगा र बुद्धभूमि नगरपालिका गरि तीन पालिकामा सेवा क्षेत्र बिस्तार गर्दै सहकारीले कामकारवाही गरिरहेको उहाले बताउनुभयो । बि.सं. २०७९ श्रावण ९ गते स्थापना भएको सहकारीमा हालसम्म ११२ जना शेयर सदस्य रहेका छन् ।

यस्तै, सभाले शेयर पूँजी वृद्धि, सदस्यता बिस्तार तथा शेयर सदस्यता अनुमोदन, नियमित बचत, आवधिक बचत, ऋणको किसिम, सोको ब्याजको प्रतिशत सम्बन्धमा छलफल गरि अनुमोदन समेत गरेको बताइएको छ । सहकारीका अध्यक्ष दिपक पौडेलले सहकारी सदस्यहरुलाई सहकारी मूल्य, सिद्धान्त र अधिकार–कर्तव्यबारे सचेत गराउने, नयाँ सदस्य भर्ना गर्दा योग्यताको आधारमा छनोट गर्ने, प्रविधि प्रयोग, सदस्यसँग सूचना आदानप्रदानलाई छिटो, भरपर्दो र सुरक्षित बनाउने, जोखिम व्यवस्थापन लगायतका सवालमा उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

जेष्ठनागरिक चित्रकला घर्ति क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रिषवदेव पौडेल, नित्यानन्द गिरी, पदमलाल शर्मा, गाेपाल केसी लगायतको आतिथ्यता रहेको थियो भने शेयर सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थानीय स्तरमा यस सहकारीले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको संचालन संस्थाका संस्थापक सदस्य तारा खरेलले गर्नुभएको थियो ।




