फागुन २० मध्यरातदेखि मतदान नसकिँदासम्म सवारी आवागमन बन्द


पालिका पत्र

१४ फाल्गुन २०८२, बिहीबार १८:११ मा प्रकाशित

काठमाडौँ, १४ फागुन २०८२

निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न यस्तो निर्णय गरेको जनाएको हो। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालन नगर्न निर्देशन दिएको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई का अनुसार एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन मात्र सञ्चालनमा रहनेछन्।

यसैगरी, मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ। ७७ वटै जिल्लामा उक्त प्रतिबन्ध कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।

जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ मा निषेध गरिएका गतिविधि हुन नदिन निगरानी कडा पारिने आयोगले जनाएको छ। उल्लङ्घन भएमा प्रचलित कानुन अनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सिफारिससहित सम्बन्धित मन्त्रालयलाई निर्देशन पठाउने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्