फागुन १८–२१ सम्म मदिरा उत्पादनदेखि सेवनसम्म पूर्ण प्रतिबन्ध


पालिका पत्र

१४ फाल्गुन २०८२, बिहीबार १९:५१ मा प्रकाशित

बाणगंगा, १४ फागुन २०८२

होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा सुरक्षा सतर्कता कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सर्वदलीय–सर्वपक्षीय बैठकपछि ११ बुँदे निर्णय सार्वजनिक गर्दै फागुन १८ गतेदेखि २१ गतेसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाउने जनाएको हो।

प्रशासनका अनुसार फागुन १९ गते मनाइने होली र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। विशेषगरी निर्वाचनको मौन अवधिमा मदिरा सेवनबाट उत्पन्न हुन सक्ने झैझगडा, अवाञ्छित गतिविधि र सुरक्षा जोखिम न्यूनीकरण गर्न कडाइ गरिएको जनाइएको छ।

निर्णयअनुसार मदिरा बिक्री गर्ने होटल, रेस्टुरेन्ट, भट्टी तथा पसलहरू उक्त अवधिभर बन्द रहनेछन्। उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

यसैगरी, निर्वाचन आचारसंहिता २०७९ को पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार, समर्थक र सरोकारवालालाई आग्रह गरिएको छ। मौन अवधिमा सभा–जुलुस, प्रचार–प्रसार, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति वा भ्रामक सूचना प्रवाह नगर्न स्पष्ट निर्देशन दिइएको छ।

प्रशासनले सबै नागरिकलाई संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्दै पर्व र निर्वाचनलाई सभ्य तथा शान्तिपूर्ण रूपमा सफल बनाउन सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्