कपिलवस्तु, १४ फागुन २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२लाई लक्षित गर्दै कपिलवस्तुमा मधेसी, मुस्लिम, हिंसा पीडित तथा अल्पसंख्यक महिला र युवतीहरूका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। महिला, कानून र विकास मञ्चको सहयोग तथा साथी संस्था कपिलवस्तुको आयोजनामा बिहीबार नेपाल निर्माण व्यवसायी संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ५० भन्दा बढी सहभागीलाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरियो। उनीहरूलाई मतपत्रको बनावट, मतदान गर्ने तरिका, मतपत्र पट्याउने विधि, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा मतदानका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

साथी संस्था कपिलवस्तुकी प्रमुख बिमला घिमिरेले निर्वाचनलाई स्वच्छ र प्रभावकारी बनाउन व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको बताउनुभयो। सहभागी महिला तथा युवतीलाई नमुना मतदान अभ्याससमेत गराइएको थियो, जसबाट उनीहरू उम्मेदवार छनोट गरी मत हाल्ने र मतपेटिकामा सुरक्षित रूपमा मतपत्र राख्ने प्रक्रियामा सक्षम भएका छन्।
कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडा अध्यक्ष जाहिद खानले मतदाता शिक्षा कार्यक्रमले सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

नमुना मतदानसहित सञ्चालन गरिएको उक्त कार्यक्रमपछि जिल्लामा अझ व्यापक रूपमा मतदाता शिक्षा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। कार्यक्रमको सहजीकरण बिमला घिमिरे र सुस्मा गुराँगाईले गर्नुभएको थियो।



