वसुन्धरा श्री पुरस्कार लोकेन्द्रबहादुरलाई र मान श्री पुरस्कार अरुणलाई


पालिका पत्र

७ बैशाख २०८३, सोमबार १४:३८ मा प्रकाशित

७ वैशाख, काठमाडौँ ।

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षका दुई प्रतिष्ठित पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानले वसुन्धराश्री पुरस्कार साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ भने मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई प्रदान गरिने भएको छ।

प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले आधुनिक नेपाली कथा, नाटक तथा निबन्ध विधामा चन्दले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उहाँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार चन्दले नेपाली साहित्यलाई समृद्ध, सार्थक र गरिमामय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

वि.सं. १९९७ मा बैतडीमा जन्मिनुभएका चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’ लगायत कृतिहरू प्रकाशित छन्।

त्यसैगरी, प्रतिष्ठानले योग, ध्यान तथा आध्यात्मिक दर्शनको प्रवर्द्धनमार्फत नेपाली वाङ्मय र सभ्यताको विस्तारमा योगदान पुर्‍याएको भन्दै स्वामी आनन्द अरुणलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

वि.सं. २००१ मा जनकपुरमा जन्मिनुभएका अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जो देखेँ मैले’ लगायत कृतिहरू प्रकाशित छन्। उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुवाद भएका छन्।

प्रतिष्ठानका अनुसार दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्