बैशाख १२, २०८३
क्षमताभन्दा अत्यधिक भारवहन गरेको जनाउँदै भारतीय सवारी साधनहरूमाथि कारबाही थालिएको छ। नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाउन थालेको छ। कारबाहीका कारण सीमावर्ती भन्सार नाकाहरूमा भारतीय गाडीहरूको लामो लाइन लाग्न थालेको छ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी तथा बाँके जिल्लाका भन्सार नाकाबाट भित्रिने भारतीय ट्रकहरूले तोकिएभन्दा दोब्बर भार बोकेको पाइएको छ। कपिलवस्तु ट्राफिकले मात्रै आज अत्यधिक भारवहन गरिएका २५ वटा सवारीसाधनलाई कारबाही प्रक्रियमा पठाएको छ।
यातायात व्यवस्था कार्यालयहरूले प्रति मालवाहक सवारीसाधन १० हजार रुपैयाँका दरले कारबाही गर्न थालेपछि व्यवसायीहरू रुष्ट बनेका छन्। भारतबाट आएको मालवस्तु भन्सार नाकामै जाँचपास गरेर राजस्व तिरिसकेपछि नेपालमै पुनः सरकारले दुःख दिएको उनीहरूको आरोप छ।
सरकारले भन्सार बिन्दुमै सवारी जाँचपास गर्दा ओभरलोड हेरेर भन्सार गर्न नदिने, भार मिलान गर्ने वा जरिवाना काट्ने व्यवस्था गर्न व्यवसायीहरूको माग छ। सरकारले एकातर्फ ओभरलोड गाडी र सामानको भन्सार दस्तुर लिने र अर्कोतर्फ फेरि अवैध ढुवानी र ओभरलोड भन्दै कारबाही गर्नु दोहोरो चरित्र भएको कृष्णनगरका उद्योगी–व्यवसायीहरूको गुनासो छ।
‘एउटै सरकारको अर्थ मन्त्रालयले राजस्व लिने, गृह मन्त्रालयले अवैध भन्दै पक्राउ गर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कारबाही तथा जरिवाना गर्ने कार्य आफैंमा गलत छ,’ व्यापारी पवन अग्रहरीले भने।
कपिलवस्तुको सुठौली भन्सार कार्यालयले भने आफूहरूले गाडीमा भएको मालवस्तुको जाँचपास गर्ने र तोकिएबमोजिम भन्सार राजस्व लिने काम मात्र भएको जनाएको छ। जाँचपासमा खटिएका नायवसुब्बा जगत गुरुङले भार मिलान र जरिवाना तिराउने अधिकार आफूहरूसँग नभएको बताए।
यता व्यवसायीहरूले भने ओभरलोडेड मालवाहक साधनको भन्सार जाँचपास रोके वा कारबाही गरे अन्य निकायका साथै व्यापारी तथा सवारीधनीले दुःख नपाउने बताउँछन्।
यातायात व्यवस्था कार्यालयले हचुवाकै भरमा १० हजार जरिवाना तिराएको भन्दै व्यापारी हैदर मुसलमानले सवारी तथा यातायात व्यवस्था ऐन तथा भारवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ मा कतै जरिवानाबारे स्पष्ट व्यवस्था नभएको जानकारी दियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले ओभरलोडेड २५ वटा सवारीसाधनलाई यातायात कार्यालयले जनही १० हजार रुपैयाँ कारबाही गरेको जनाएको छ। प्रहरी निरीक्षक राजन ढकालका अनुसार कारबाही गरिएका सवारीले क्षमताभन्दा ३२ टनसम्म बढी मालवस्तु बोकेका थिए।
कारबाही प्रक्रिया जारी रहने र नेपाली सवारी साधनमा समेत अधिक भार नियन्त्रणमा थप कडाइ गरिएको उनले बताए।
